27.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाले तिमीलाई दैवी धर्म र श्रेष्ठ कर्म सिकाउनु हुन्छ , त्यसैले तिमीबाट कुनै पनि आसुरी कर्म हुनु हुँदैन , बुद्धि एकदम शुद्ध हुनुपर्छ।”

प्रश्न:–
देह-अभिमानमा आएपछि पहिलो पाप कुनचाहिँ हुन्छ?

उत्तर:–
यदि देह-अभिमान छ भने बाबाको यादको सट्टा देहधारीको याद आउँछ, कुदृष्टि गइरहन्छ, खराब ख्याल आउँछन्। यो धेरै ठूलो पाप हो। सम्झनुपर्छ, मायाले आक्रमण गरिरहेको छ। तुरुन्तै सावधान भइहाल्नु पर्छ।

ओम् शान्ति ।
रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाइरहनु भएको छ। रूहानी बाबा आउनु हुन्छ कहाँबाट? रूहानी दुनियाँबाट। जसलाई निर्वाणधाम अथवा शान्तिधाम पनि भनिन्छ। यो त हो गीताको कुरा। तिमीसँग सोध्छन्– यो ज्ञान कहाँबाट आयो? भन, यो त उही गीताको ज्ञान हो। गीताको पार्ट चलिरहेको छ, बाबाले पढाउनु हुन्छ। भगवानुवाच छ नि, भगवान त एउटै हुनुहुन्छ। उहाँ हुनुहुन्छ शान्तिका सागर। रहनुहुन्छ पनि शान्तिधाममा, जहाँ हामी पनि रहन्छौं। बाबा सम्झाउनु हुन्छ– यो हो पतित दुनियाँ, पाप आत्माहरूको तमोप्रधान दुनियाँ। तिमीले पनि जानेका छौ– वास्तवमा हामी आत्माहरू यस समयमा तमोप्रधान छौं। ८४ को चक्र लगाएर सतोप्रधानबाट अहिले तमोप्रधानतामा आइपुगेका छौं। यो पुरानो अथवा कलियुगी दुनियाँ हो नि। यी नाम सबै यसै समयका हुन्। पुरानो दुनियाँ पछि फेरि नयाँ दुनियाँ हुन्छ। यो पनि जानेका छन्– महाभारत लडाईं पनि तब लागेको थियो जबकि दुनियाँ परिवर्तन हुनु पर्ने थियो। तब नै बाबाले आएर राजयोग सिकाउनु भएको थियो। केवल गल्ती के भयो? एक त कल्पको आयु बिर्सिए अनि गीताका भगवानलाई पनि बिर्सेका छन्। कृष्णलाई त परमपिता भन्न सकिँदैन। आत्माले भन्छ– परमपिता, त्यसैले उहाँ निराकार हुनुभयो। निराकार बाबाले आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर। म नै पतित-पावन हुँ, मलाई बोलाउँछन् पनि– हे पतित-पावन भनेर। कृष्ण त देहधारी हुन् नि। मेरो त कुनै शरीर छैन। म निराकार हुँ, मानिसहरूको पिता होइन, आत्माहरूका पिता हुँ। यो त पक्का गर्नुपर्छ। घरी-घरी हामी आत्माहरूले उहाँ बाबासँग वर्सा लिन्छौं। अब ८४ जन्म पूरा भए, बाबा आउनु भएको छ। बाबा-बाबा नै भनिरहनु छ। बाबालाई धेरै याद गर्नु छ। सारा कल्प लौकिक पितालाई याद गर्यौ। अहिले बाबा आउनु भएको छ, मनुष्य सृष्टिबाट सबै आत्माहरूलाई फर्काएर लिएर जानुहुन्छ किनकि रावण राज्यमा मानिसहरूको दुर्गति भएको छ, त्यसैले अब बाबालाई याद गर्नु छ। अहिले रावण राज्य हो, यो पनि मनुष्य कसैले बुझ्दैनन्। रावणको अर्थ पनि बुझ्दैनन्। एक रिवाज बनेको छ, दशैं मनाउने। तिमीले पनि कहाँ अर्थ बुझ्दथ्यौ र। अहिले समझ मिलेको छ अरूलाई समझ दिनको लागि। यदि अरूलाई बुझाउन सक्दैनौ भने मानौं स्वयंले पनि बुझेका छैनौ। बाबामा सृष्टि चक्रको ज्ञान छ। हामी उहाँका बच्चाहरू हौं, त्यसैले बच्चाहरूमा पनि यो ज्ञान रहनु पर्छ।

तिम्रो यो हो गीता पाठशाला। उद्देश्य के छ? यस्तो लक्ष्मी-नारायण बन्ने। यो राजयोग हो नि। नरबाट नारायण, नारीबाट लक्ष्मी बन्नको लागि यो ज्ञान हो। उनीहरूले बसेर कथा सुनाउँछन्। यहाँ त हामी पढ्छौं, हामीलाई बाबाले राजयोग सिकाउनु हुन्छ। यो सिकाउनु हुन्छ नै कल्पको संगमयुगमा। बाबा भन्नुहुन्छ– म पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ बनाउन आएको हुँ। नयाँ दुनियाँमा यिनीहरूको राज्य थियो, पुरानोमा छैन, फेरि अवश्य हुनुपर्छ। चक्र त बुझिसकेका छौ। मुख्य धर्म छन् चार। अहिले दैवी धर्म छँदै छैन। दैवी धर्म भ्रष्ट र दैवी कर्म भ्रष्ट बन्न पुगेका छन्। अहिले फेरि तिमीलाई श्रेष्ठ दैवी धर्म र श्रेष्ठ कर्म सिकाइरहेको छु। त्यसैले आफूमाथि ध्यान राख्नु छ, मबाट कुनै आसुरी कर्म त हुँदैन? मायाको कारण कुनै खराब ख्याल त बुद्धिमा आउँदैन? कुदृष्टि त रहँदैन? हेर, यदि कसैको कुदृष्टि जान्छ अथवा खराब ख्याल आउँछ भने उसबाट तुरुन्त सावधान रहनु पर्छ। उसँग संगत गर्नु हुँदैन। उसलाई सावधान गर्नुपर्छ– तपाईंमा मायाको प्रवेशताको कारण यो खराब ख्याल आएको हो। योगमा बसेर बाबाको यादको सट्टा कसैको देहतर्फ ख्याल जान्छ भने सम्झनुपर्छ– यो मायाको आक्रमण भइरहेको छ, मैले पाप गरिरहेको छु। यसमा बुद्धि धेरै शुद्ध हुनुपर्छ। ख्याल-ठट्टा ले पनि धेरै नोक्सान हुन्छ, त्यसैले तिम्रो मुखबाट सदैव शुद्ध वचन निस्किनुपर्छ, कुवचन होइन। ख्याल-ठट्टा आदि पनि होइन। यस्तो होइन, मैले त हाँसो मात्र गरेको हुँ... त्यो पनि नोक्सानकारक हुन पुग्छ। हाँसो पनि यस्तो हुनु हुँदैन, जसमा विकारको वायु होस्। धेरै खबरदार रहनु छ। तिमीलाई थाहा छ– नाङ्गा मानिस हुन्छन् (एकथरी जैनी) उनको ख्याल विकारतर्फ जाँदैन। रहन्छन् पनि अलग्गै। तर कर्मेन्द्रियहरूको चंचलता योग विना निस्किदैन। काम शत्रु यस्तो छ जसले कसैलाई पनि देख्दा, योगमा पूरा छैनन् भने चञ्चल अवश्य पार्नेछ। आफ्नो परीक्षा लिनु पर्ने हुन्छ। बाबाको यादमा नै रहने गर। यो कुनै पनि प्रकारको बिमारी नरहोस्। योगमा रहेमा यो हुँदैन। सत्ययुगमा त कुनै पनि प्रकारको अपवित्रता हुँदैन। त्यहाँ रावणको चञ्चलता नै हुँदैन जसले चञ्चल बनाओस्। त्यहाँ त योगी जीवन हुन्छ। यहाँ पनि अवस्था धेरै पक्का हुनुपर्छ। योगबलबाट यी सबै बिमारीहरू बन्द हुन्छन्। यसमा धेरै मेहनत छ। राज्य लिनु कुनै साधारण कुरा होइन। पुरुषार्थ त गर्नु छ नि। यस्तो होइन, जे भाग्यमा छ, त्यो मिल्छ। धारणा नै गर्दैनन् भने पाई-पैसाको पद पाउन लायक हुन्छन्। विषय त धेरै हुन्छन् नि। कसैले चित्रमा, कसैले खेलमा नम्बर लिन्छन्। ती हुन् साधारण विषय। त्यस्तै यहाँ पनि विषयहरू छन्। केही न केही मिल्छ। बाँकी बादशाही मिल्दैन। त्यसो त सेवा गर्यो भने बादशाही मिल्छ। त्यसको लागि धेरै मेहनत चाहिन्छ। धेरैको बुद्धिमा बस्दै बस्दैन। मानौं खाएको पच्दैन। उच्च पद पाउने हिम्मत हुँदैन, यसलाई पनि बिमारी भनिन्छ नि। तिमीले कुनै पनि कुरा देखेर पनि नहेर। रूहानी बाबाको यादमा रहेर अरूलाई मार्ग बताउनु छ, अन्धाहरूको लठ्ठी बन्नु छ। तिमीले त मार्ग जानेका छौ। जो जो महारथी छन्, उनको बुद्धिमा रचयिता र रचनाको ज्ञान, मुक्ति र जीवन मुक्तिको ज्ञान घुमिरहन्छ। बच्चाहरूको अवस्थामा पनि रात-दिनको फरक रहन्छ। कहीँ धेरै धनवान बन्छन्, कहीँ बिल्कुल गरिब। राजाई पदमा त फरक हुन्छ नि। त्यहाँ रावण नहुनाको कारण दु:ख हुँदैन। बाँकी सम्पत्तिमा त फरक पर्छ। सम्पत्तिबाट सुख हुन्छ।

जति योगमा रहन्छौ, त्यति स्वास्थ्य पनि धेरै राम्रो हुन्छ। मेहनत गर्नुपर्छ। धेरैको त चलन यस्तो हुन्छ, मानौं अज्ञानी मानिसहरूको हुन्छ। उनले कसैको कल्याण गर्न सक्दैनन्। जब परीक्षा हुन्छ, अनि थाहा हुन्छ– कसले कति अंक ल्याएर पास हुन्छन्, फेरि त्यस समय रुनु पर्छ। बापदादा दुवैले कति सम्झाइरहनु हुन्छ। बाबा आउनु भएको छ नै कल्याण गर्न। आफ्नो पनि कल्याण गर्नु छ, अरूको पनि कल्याण गर्नु छ। बाबालाई बोलाएका पनि हौ– आएर हामी पतितहरूलाई पावन हुने मार्ग बताउनुहोस् भनेर। त्यसैले बाबाले श्रीमत दिनुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झेर देह-अभिमान छोडेर मलाई याद गर। कति सहज दबाई दिनुहुन्छ। भन, हामीले केवल एक भगवान बाबालाई मान्छौ। उहाँले भन्नुहुन्छ– मलाई बोलाउँछौ, आएर पतितहरूलाई पावन बनाउनुहोस्, त्यसैले मलाई आउनु पर्छ। ब्रह्मासँग तिमीलाई केही पनि मिल्ने छैन। उनी त दादा हुन्, बाबा होइनन्। बाबाबाट त वर्सा मिल्छ। ब्रह्मासँग कहाँ वर्सा मिल्छ र। निराकार बाबाले यिनीद्वारा आफ्नो बनाएर पढाउनु हुन्छ। यिनलाई पनि पढाउनु हुन्छ। ब्रह्मासँग त केही पनि मिल्दैन। वर्सा बाबासँग नै मिल्छ, यिनीद्वारा। दिनेवाला एक हुनुहुन्छ। उहाँको नै महिमा हो। उहाँ नै सर्वका सद्गति दाता हुनुहुन्छ। यी त पूज्यबाट फेरि पुजारी बन्छन्। सत्ययुगमा थिए, फेरि ८४ जन्म भोगेर अब पतित बनेका छन्, फेरि पूज्य पावन बनिरहेका छन्। हामीले बाबाद्वारा सुन्छौं। कोही मनुष्यबाट सुन्दैनौं। मनुष्यहरूको हो नै भक्तिमार्ग। यो हो रूहानी ज्ञानमार्ग। ज्ञान केवल एक ज्ञान सागरसँग मात्रै छ। बाँकी यी शास्त्र आदि सबै भक्तिमार्गका हुन्। शास्त्र आदि पढ्नु– यो सबै हो भक्तिमार्ग। ज्ञान सागर त एउटै बाबा हुनुहुन्छ, हामी ज्ञान नदीहरू ज्ञान सागरबाट निस्केका हौं। बाँकी ती हुन् पानीका सागर र नदीहरू। बच्चाहरूको ध्यानमा यी सबै कुरा रहनु पर्छ। अन्तर्मुखी भएर बुद्धि चलाउनु पर्छ। आफूले आफैंलाई सुधार्नको लागि अन्तर्मुखी भएर आफ्नो जाँच गर। यदि मुखबाट कुनै कुवचन निस्क्यो या कुदृष्टि गयो भने आफूलाई चिमोट्नु पर्छ– मेरो मुखबाट कुवचन किन निस्क्यो? मेरो कुदृष्टि किन गयो? आफूलाई थप्पड पनि मार्नुपर्छ। घरी-घरी सावधान गराउनु पर्छ, तब नै उच्च पद पाउन सक्छौ। मुखबाट कुवचन ननिस्कियोस्। बाबालाई त सबै प्रकारको शिक्षा दिनु पर्ने हुन्छ। कसैलाई पागल भन्नु– यो पनि कुवचन हो।

मानिसहरूले त जसलाई जे आयो त्यो भनिरहन्छन्। केही पनि जानेका छैनन्– हामीले कसको महिमा गाउँछौं। महिमा त गर्नुपर्छ एकै पतित-पावन बाबाको। अरू त कोही हुँदै होइनन्। ब्रह्मा, विष्णु, शंकरलाई पनि पतित-पावन भनिदैन। यिनले त कसैलाई पावन बनाउँदैनन्। पतितबाट पावन बनाउनेवाला एकै बाबा हुनुहुन्छ। पावन सृष्टि हो नै नयाँ दुनियाँ। त्यो त अहिले छैन। पवित्रता हुन्छ नै स्वर्गमा। पवित्रताका सागर पनि हुनुहुन्छ। यो त हो नै रावण राज्य। बच्चाहरूले अब आत्म-अभिमानी बन्ने मेहनत गर्नुपर्छ। मुखबाट कुनै पनि पत्थर वा कुवचन निस्किनु हुँदैन। धेरै प्यारले चल्नु छ। कुदृष्टिले पनि धेरै नोक्सान गरिदिन्छ। धेरै मेहनत गर्नुपर्छ। आत्म-अभिमान हो अविनाशी अभिमान। देह त विनाशी हो। आत्मालाई त कसैले पनि जानेका छैनन्। आत्माको पनि पिता अवश्य कोही हुनुपर्छ नि। भन्ने पनि गर्छन्– सबै भाइ-भाइ हौं। फेरि सबैमा परमात्मा बाबा विराजमान कसरी हुन सक्नुहुन्छ? सबै बाबा कसरी हुन सक्छन्? यति पनि अक्कल छैन! सबैका बाबा त एउटै हुनुहुन्छ, उहाँसँग नै वर्सा मिल्छ। उहाँको नाम हो शिव। शिवरात्रि पनि मनाउँछन्। रुद्र रात्रि वा कृष्ण रात्रि भनिदैन। मनुष्यले त केही पनि बुझ्दैनन्, भन्छन्– यी सबै उहाँका रूप हुन्, उहाँकै लीला हो।

तिमीले अहिले जानेका छौ– बेहदका बाबासँग त बेहदको वर्सा मिल्छ, त्यसैले उहाँ बाबाको श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। लेबरहरूलाई पनि शिक्षा दिनुपर्छ, तब उनको पनि केही कल्याण हुन सक्छ। तर स्वयंले नै याद गर्न सक्दैनन् भने अरूलाई के याद दिलाउँछन्? रावणले एकदम पतित बनाइदिन्छ, फेरि बाबा आएर परिस्तानी बनाउनु हुन्छ। आश्चर्य छ नि। कसैको पनि बुद्धिमा यो कुरा छैन। यी लक्ष्मी-नारायण कति उच्च परिस्तानीबाट फेरि कति पतित बन्न पुग्छन्, त्यसैले ब्रह्माको दिन, ब्रह्माको रात गायन गरिएको छ। शिवको मन्दिरमा तिमीले धेरै सेवा गर्न सक्छौ। बाबा भन्नुहुन्छ– मलाई याद गर। द्वार-द्वार भड्किन छोड। यो ज्ञान हो नै शान्तिको। बाबालाई याद गर्नाले तिमी सतोप्रधान बन्छौ। केवल यही मन्त्र दिइराख। कसैसँग पनि पैसा लिनु हुँदैन, जबसम्म पक्का हुँदैनन्। भन– प्रतिज्ञा गर्नुहोस्, म पवित्र रहन्छु, अनि मात्रै हामी तपाईंको हातले बनाएको खान सक्छौं, जे पनि लिन सक्छौं। यहाँ मन्दिरहरू त धेरै छन्। विदेशी आदि जति पनि आउँछन्, उनलाई यो सन्देश तिमीले दिन सक्छौ– बाबालाई याद गर्नुहोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कहिल्यै पनि यस्तो ख्याल-ठट्टा गर्नु हुँदैन, जसमा विकारको वायु होस्। आफूलाई धेरै सावधान राख्नु छ। मुखबाट कटुवचन निकाल्नु छैन।

२) आत्म-अभिमानी बन्ने धेरै अभ्यास गर्नु छ। सबैसँग प्यारसँग चल्नु छ। कुदृष्टि राख्नु हुँदैन। कुदृष्टि गयो भने आफूले आफैंलाई सजाय दिनु छ।

वरदान:–
मान माग्नुको सट्टा सबैलाई मान दिने सदा निष्काम योगी भव

तिमीलाई कसैले मान दिऊन्, मानुन् वा नमानुन् तर तिमीले उनलाई स्नेही भाइ, स्नेही बहिनी मान्दै सदा स्वमानमा रहेर स्नेही दृष्टिद्वारा, स्नेहको वृत्तिद्वारा आत्मिक मान दिँदै जाऊ। उसले मान दियो भने म मान दिन्छु– यो पनि रोयल भिखारीपन हो। यसमा निष्काम योगी बन। रूहानी स्नेहको वर्षाद्वारा दुस्मनलाई पनि दोस्त बनाऊ। तिम्रो सामु कसैले पत्थर हाने पनि तिमीले उसलाई रत्न देऊ किनकि तिमी रत्नागर बाबाका बच्चा हौ।

स्लोगन:–
विश्वको नव-निर्माण गर्नको लागि दुई शब्द याद राख– निमित्त र निर्मान।