25.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे– तिमीले
यादमा रहने पुरुषार्थ अवश्य गर्नु छ किनकि यादको बलबाट नै तिमी विकर्माजित बन्छौ।”
प्रश्न:–
कुनचाहिँ
ख्याल आयो भने पुरुषार्थमा गिरावट आउँछ? ईश्वरीय सेवाधारी बच्चाहरूले कुनचाहिँ सेवा
गरिरहन्छन्?
उत्तर:–
कति बच्चाहरूले सम्झन्छन्– अझै समय बाँकी छ, अन्तिममा पुरुषार्थ गरिहाल्छौं, तर
मृत्युको नियम कहाँ छ र। भोलि-भोलि भन्दै मर्छौ। त्यसैले यस्तो नसम्झ धेरै वर्ष
बाँकी छ, अन्तिममा छलाङ लगाउने छु। यस्तो ख्यालले अझै गिराइदिन्छ। जति हुन सक्छ
यादमा रहने पुरुषार्थ कर, श्रीमत अनुसार आफ्नो कल्याण गरिराख। ईश्वरीय सेवाधारी
बच्चाहरूले आत्माहरूलाई मुक्त गर्ने, पतितहरूलाई पावन बनाउने सेवा गरिरहन्छन्।
गीत:–
ओम् नमो शिवाए......
ओम् शान्ति ।
यो त
बच्चाहरूलाई सम्झाइएको छ– निराकार बाबाले साकार विना कुनै पनि कर्म गर्न सक्नुहुन्न।
पार्ट खेल्न सक्नुहुन्न। रूहानी बाबा आएर ब्रह्माद्वारा रूहानी बच्चाहरूलाई सम्झाउनु
हुन्छ। योगबलद्वारा नै बच्चाहरूलाई सतोप्रधान बन्नु छ फेरि सतोप्रधान विश्वको मालिक
बन्नु छ। यो बच्चाहरूको बुद्धिमा छ। कल्प-कल्प बाबा आएर राजयोग सिकाउनु हुन्छ। आएर
ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ अर्थात् मनुष्यलाई
देवता बनाउनु हुन्छ। मनुष्य जो देवी-देवता थिए ती अहिले परिवर्तन भएर शूद्र, पतित
बनेका छन्। दुनियाँ जब पारसपुरी थियो, पवित्रता-सुख-शान्ति सबै थियो। यो ५ हजार
वर्षको कुरा हो। एक्युरेट हिसाब-किताब बाबा बसेर सम्झाउनु हुन्छ। उहाँ भन्दा उच्च त
कोही छैन। सृष्टि वा वृक्ष, जसलाई कल्प वृक्ष भनिन्छ, त्यसको आदि-मध्य-अन्त्यको
रहस्य बाबाले नै बताउन सक्नुहुन्छ। जुन देवी-देवता धर्म थियो, त्यो अहिले प्राय:
लोप भएको छ। देवी-देवता धर्म त अहिले छैन। देवताहरूका चित्र अवश्य छन्। यो त
हिन्दुहरूले जानेका छन्। सत्ययुगमा लक्ष्मी-नारायणको राज्य थियो। हुन त शास्त्रहरूमा
कृष्णलाई द्वापरमा लगेका छन्, यो भूल गरिदिएका छन्। बाबा नै आएर भुलेकालाई पूरा
मार्ग बताउनु हुन्छ। मार्ग बताउने बाबा आउनु हुन्छ अनि सबै आत्माहरू मुक्तिधाममा
जान्छन्। त्यसैले उहाँलाई भनिन्छ सर्वका सद्गति दाता। रचयिता एउटै हुनुहुन्छ। सृष्टि
एउटै हो। विश्वको इतिहास-भूगोल एउटै हो, त्यो दोहोरिइरहन्छ। सत्ययुग, त्रेता,
द्वापर, कलियुग फेरि हुन्छ संगमयुग। कलियुगमा हुन्छन् पतित, सत्ययुगमा हुन्छन् पावन।
सत्ययुग हुन्छ त्यसैले अवश्य कलियुग विनाश हुन्छ। विनाश भन्दा पहिला स्थापना हुन्छ।
सत्ययुगमा त स्थापना हुँदैन। भगवान् आउनु हुन्छ नै तब, जब पतित दुनियाँ हुन्छ।
सत्ययुग त हो नै पावन दुनियाँ। पतित दुनियाँलाई पावन दुनियाँ बनाउन भगवानलाई आउनु
पर्छ। अहिले बाबाले अति सहज युक्ति बताउनु हुन्छ। देहका सबै सम्बन्ध छोडेर
देही-अभिमानी बनेर बाबालाई याद गर। कोही त पतित-पावन हुनुहुन्छ नि। भक्तहरूलाई फल
दिने एउटै भगवान् हुनुहुन्छ। भक्तहरूलाई ज्ञान दिनुहुन्छ। पतित दुनियाँमा ज्ञान
सागर नै आउनु हुन्छ, पावन बनाउनको लागि। पावन बन्छौ योगद्वारा। बाबा विना त कसैले
पावन बनाउन सक्दैन। यो सबै कुरा बुद्धिमा धारण गराइन्छ, अरूलाई सम्झाउनको लागि।
घर-घरमा सन्देश दिनु छ। यस्तो भन्नु हुँदैन– भगवान् आउनु भएको छ। धेरै युक्तिसँग
सम्झाउनुपर्ने हुन्छ। भन, उहाँ बाबा हुनुहुन्छ नि। एउटा हुन्छन् लौकिक पिता, दोस्रो
पारलौकिक पिता। दु:खको समय पारलौकिक पितालाई नै याद गर्छन्। सुखधाममा कसैले पनि याद
गर्दैनन्। सत्ययुगमा लक्ष्मी-नारायणको राज्यमा सुख नै सुख थियो। पवित्रता, शान्ति,
समृद्धि थियो। बाबाको वर्सा मिल्यो फेरि पुकार्छन् किन? आत्माले जान्दछ– हामीलाई
सुख छ। यो त जसले पनि भन्छन्, त्यहाँ सुख नै सुख हुन्छ। बाबाले दु:खको लागि त सृष्टि
रच्नु भएको होइन। यो बनिबनाउ खेल हो। जसको पार्ट अन्तिममा छ, २-४ जन्म लिन्छ, ऊ
अवश्य बाँकी समय शान्तिमा रहन्छ। बाँकी ड्रामाको खेलबाट नै निस्कियोस्, यो हुन
सक्दैन। खेलमा त सबै आउनु पर्छ। एक-दुई जन्म मिल्छ। बाँकी समय मानौं मोक्ष मिले
जस्तै हुन्छ। आत्मा पार्टधारी हो नि। कुनै आत्मालाई उच्च पार्ट मिलेको छ कुनैलाई कम।
यो पनि अहिले तिमीले जानेका छौ, गायन गरिन्छ– ईश्वरको कसैले अन्त्य पाउन सकिँदैन।
बाबा नै आएर बताउनु हुन्छ– रचयिता र रचनाको आदि-मध्य-अन्त्यको विषयमा। जबसम्म रचयिता
स्वयं आउनुहुन्न तबसम्म रचयिता र रचनालाई जान्न सकिँदैन। बाबा नै आएर बताउनु हुन्छ।
म साधारण तनमा प्रवेश गर्छु। म जसमा प्रवेश गर्छु, उनले आफ्नो जन्मलाई जानेका छैनन्।
उनलाई बसेर ८४ जन्मको कथा सुनाउँछु। कसैको पार्टमा चेन्ज हुन सक्दैन। यो बनिबनाउ
खेल हो। यो पनि कसैको बुद्धिमा बस्दैन। बुद्धिमा तब बस्छ, जब पवित्र भएर पढ्छन्।
राम्रोसँग बुझ्नको लागि ७ दिन भट्ठी हुन्छ। भागवत आदि पनि ७ दिन लगाउँछन् । यहाँ पनि
समझमा आउँछ– कम से कम ७ दिनको कोर्स नगरी कसैले बुझ्न सक्दैन। कसैले त राम्ररी
बुझ्छन्। कसैले त ७ दिन कोर्स गरेर पनि केही बुझ्दैनन्। बुद्धिमा बस्दैन। भन्छन्– म
त ७ दिन आएँ। मेरो बुद्धिमा केही पनि बसेन। उच्च पद पाउनु छैन भने बुद्धिमा बस्दैन।
ठीक छ, फेरि पनि उनीहरूको कल्याण त भयो नि। प्रजा त यसरी नै बन्छन्। बाँकी
राज्य-भाग्य लिन त गुप्त मेहनत चाहिन्छ। बाबालाई याद गर्नाले नै विकर्म विनाश
हुन्छन्। अब गर नगर, बाबाको निर्देशन यही हो। प्यारो वस्तुलाई त याद गरिन्छ नि।
भक्ति मार्गमा पनि पुकार्छन्– हे पतित-पावन आउनुहोस्। अब उहाँ मिल्नु भएको छ,
भन्नुहुन्छ– मलाई याद गर्यौ भने कट निस्किन्छ। बादशाही सहज कहाँ मिल्छ र। केही त
मेहनत गर्नु पर्ने हुन्छ नि। यादमा नै मेहनत छ। मुख्य हो नै यादको यात्रा। धेरै याद
गर्नेले कर्मातीत अवस्थालाई प्राप्त गर्छ। पूरा याद नगरेमा विकर्म विनाश हुँदैन।
योगबलद्वारा नै विकर्माजित बन्नु छ। पहिला पनि योगबलबाट नै विकर्मलाई जितेका हौ।
लक्ष्मी-नारायण यति पवित्र कसरी बने? जबकि कलियुग अन्त्यमा कोही पनि पवित्र छैनन्।
यसमा त स्पष्ट छ, यो गीता ज्ञानको अध्याय दोहोरिइरहेको छ। शिव भगवानुवाच– भूल त
भइरहन्छ नि। बाबा नै आएर अभुल बनाउनु हुन्छ। यहाँ जति पनि शास्त्र छन्, ती सबै हुन्
भक्ति मार्गका। बाबा भन्नुहुन्छ– मैले जे भनेको थिएँ, त्यो कसैलाई पनि थाहा छैन।
जसलाई भनेको थिएँ, उनीहरूले पद पाए। २१ जन्मको प्रारब्ध पाए फेरि ज्ञान प्राय: लोप
हुन्छ। तिमीले नै चक्कर लगाएर आएका हौ। कल्प पहिला जसले सुने, उनै आउँछन्। अहिले
तिमीले जानेका छौ– हामीले कलमी लगाइरहेका छौं, मनुष्यलाई देवता बनाउन। यो हो दैवी
वृक्षको कलमी। ती मानिसहरूले फेरि ती वृक्षहरूको कलमी धेरै लगाइरहन्छन्। बाबा आएर
भिन्नता बताउनु हुन्छ। बाबाले दैवी फूलहरूको कलमी लगाउनु हुन्छ। उनीहरूले त जंगलको
कलमी लगाइरहन्छन्। तिमीले देखाउँछौ पनि– कौरवले के गर्छन्, पाण्डवले के गर्छन्? उनको
के प्लान छ र तिम्रो के प्लान छ। उनले आफ्नो प्लान बनाउँछन्– जनसंख्या नबढोस् भनेर,
फेमिली प्लानिङ्ग गराउँछन् ताकि मनुष्य धेरै नबढून्, यसको लागि मेहनत गरिरहन्छन्।
बाबाले त धेरै राम्रो कुरा बताउनु हुन्छ, अनेक धर्म विनाश हुन्छन्, एउटै देवी-देवता
धर्मको घराना स्थापना गर्नुहुन्छ। सत्ययुगमा एउटै आदि सनातन देवी-देवता धर्मको घराना
थियो, यति धेरै घराना थिएनन्। भारतमा कति परिवार छन्। गुजराती परिवार,
महाराष्ट्रियन परिवार... वास्तवमा भारतीयहरूको एउटै परिवार हुनुपर्छ। धेरै परिवार
भयो भने अवश्य आपसमा खिटपिट नै हुन्छ। फेरि गृहयुद्ध हुन्छ। परिवारमा पनि गृहयुद्ध
हुन्छ। जस्तै क्रिश्चियनहरूको आफ्नो परिवार छ। उनीहरूको पनि आपसमा युद्ध हुन्छ।
आपसमा दुई भाइ मिल्दैनन्, पानी पनि बाँड्छन्। सिक्ख धर्मकाले सम्झन्छन्– हामीले
आफ्नो सिक्ख धर्मकालाई धेरै सुख दिन्छौं, लगाव हुने भएकाले मेहनत गरिरहन्छन्। जब
अन्त्य हुन्छ, फेरि गृहयुद्ध आदि सबै आउँछ। आपसमा लड्न थाल्छन्। विनाश त हुनु नै छ।
बम धेरै बनाइरहन्छन्। जब भीषण लडाई भएको थियो, त्यतिबेला २ बम छोडेका थिए। अहिले त
धेरै बनाएका छन्। समझको कुरा हो नि। तिमीले सम्झाउनु छ– यो लडाई उही महाभारतको हो।
ठूला मानिसहरूले भन्छन्– यदि यस लडाईंलाई बन्द नगर्ने हो भने त सारा दुनियाँलाई आगो
लाग्छ। आगो त लाग्नु नै छ, यो तिमीले जानेका छौ। बाबाले आदि सनातन देवी-देवता धर्मको
स्थापना गरिरहनु भएको छ। राजयोग हो नै सत्ययुगको। त्यो देवी-देवता धर्म अब प्राय:
लोप भएको छ। चित्र पनि बनेका छन्। बाबा भन्नुहुन्छ– कल्प पहिला जस्तै जो विघ्न परेका
थिए, ती पर्छन्। पहिल्यै कहाँ थाहा हुन्छ र। फेरि बुझिन्छ– कल्प पहिला पनि यस्तो
भएको रहेछ। यो बनिबनाउ ड्रामा हो। हामी ड्रामामा बाँधिएका छौं, यादको यात्रालाई
बिर्सिनु हुँदैन। यसलाई परीक्षा भनिन्छ। यादको यात्रामा टिक्न सक्दैनन्, थाक्छन्।
गीत छ नि– रात के राही.... यसको अर्थ कसैले बुझ्न सक्दैन। यो हो यादको यात्रा,
जसबाट रात पूरा भएर दिन आउँछ। आधाकल्प पूरा भएर फेरि सुख सुरु हुन्छ। बाबाले नै
मनमनाभवको अर्थ पनि सम्झाउनु भएको छ। केवल गीतामा कृष्णको नाम राख्नाले त्यो तागत
छैन। अब कल्याण त सबैको हुनु छ। मतलब हामीले सबै मनुष्य मात्रको कल्याण गरिरहेका
छौं, सारा दुनियाँको। सबैको श्रीमत अनुसार कल्याण गरिरहेका छौं। कल्याणकारी जो
बन्छन्, वर्सा पनि उनैलाई मिल्छ। यादको यात्राले सिवाय कल्याण हुन सक्दैन।
अहिले तिमीलाई सम्झाइएको छ, उहाँ त बेहदको बाबा हुनुहुन्छ। बाबाबाट वर्सा मिलेको
थियो। तिमीले नै ८४ जन्म लिएका हौ। पुनर्जन्मको पनि हिसाब छ। कसैले बुझ्दैनन्– ८४
जन्म कसले लिन्छन्? आफ्नै श्लोक आदि बनाएर सुनाइ रहन्छन्। गीता उही, तर टीकाहरू
अनेक लेख्छन्। गीता भन्दा त भागवत ठूलो बनाएका छन्। गीतामा छ ज्ञान। भागवतमा छ जीवन
कथा। वास्तवमा ठूलो गीता हुनुपर्छ। ज्ञानको सागर बाबा हुनुहुन्छ, उहाँको ज्ञान त चलि
नै रहन्छ। उनले गीता त आधा घण्टामा पढ्छन्। अहिले तिमीले यसलाई लेखिरहेका छौ, ज्ञान
सुन्दै आएका छौ। दिन-प्रतिदिन तिमीकहाँ आइरहन्छन्। बिस्तारै बिस्तारै आउँछन्। अहिले
नै यदि ठूला-ठूला राजाहरू आए भने त फेरि समय नै लाग्दैन। झट्ट आवाज फैलिन्छ, त्यसैले
युक्तिसँग बिस्तारै बिस्तारै चलिरहन्छ। यो हो नै गुप्त ज्ञान। कसैलाई थाहा छैन–
यिनले के गरिरहेका छन्। रावणसँग तिम्रो युद्ध कस्तो छ। यो त तिमीले नै जान्न सक्छौ,
अरू कसैले जान्न सक्दैन। भगवानुवाच– तिमीले सतोप्रधान बन्नको लागि मलाई याद गर्यौ
भने पाप नाश हुन्छ। पवित्र बन अनि साथमा लिएर जान्छु। जीवनमुक्ति सबैलाई मिल्नु छ।
रावण राज्यबाट मुक्ति मिल्छ। तिमीले लेख्छौ पनि– हामी शिव शक्ति
ब्रह्माकुमार-कुमारीहरूले श्रेष्ठाचारी दुनियाँ स्थापना गर्छौं। परमपिता परमात्माको
श्रीमतमा, ५ हजार वर्ष पहिला जस्तै। ५ हजार वर्ष पहिला श्रेष्ठाचारी दुनियाँ थियो।
यो बुद्धिमा बसाउनु पर्छ। मुख्य-मुख्य प्वाइन्टहरू बुद्धिमा धारणा भयो भने यादको
यात्रामा रहन सक्छौ। पत्थरबुद्धि छन् नि। कतिले सम्झन्छन्– अझै समय छ, अन्तिममा
पुरुषार्थ गरिहाल्छु। तर मृत्युको कुनै नियम कहाँ छ र। भोलि नै मरियो भने! भोलि-भोलि
भन्दै मर्छौ। पुरुषार्थ त गरेनौ, त्यसैले यस्तो नसम्झ धेरै वर्ष बाँकी छ। अन्तिममा
ग्लालप गर्नेछु। यो ख्यालले अझै गिराइदिन्छ। जति हुन सक्छ पुरुषार्थ गरिराख।
श्रीमतमा चलेर हरेकले आफ्नो कल्याण गर्नु छ। आफ्नो जाँच गर्नु छ– कति बाबालाई याद
गर्छु! कति बाबाको सेवा गर्छु! रूहानी खुदाई खिदमतगार तिमी हौ नि। तिमीले आत्माहरूको
कल्याण गर्छौ। रूह पतितबाट पावन कसरी बन्यो, त्यसको कारण बताइन्छ। दुनियाँमा राम्रा
र नराम्रा मनुष्य त हुन्छन् नै, हरेकको पार्ट आ-आफ्नो छ। यो हो बेहदको कुरा। मुख्य
हाँगा-बिँगा नै गनिन्छ। बाँकी पातहरू त अनेक छन्। बाबाले सम्झाइरहनु हुन्छ– प्यारा
बच्चाहरू! मेहनत गर। सबैलाई बाबाको परिचय देऊ ताकि बाबासँग बुद्धिको योग जुट्न सकोस्।
बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ, पवित्र बन तब मुक्तिधाममा जान्छौ। दुनियाँलाई
कहाँ थाहा छ र– महाभारत लडाई पछि के हुन्छ? यो ज्ञान यज्ञ रचिएको छ किनकि नयाँ
दुनियाँ हुनुपर्छ। हाम्रो यज्ञ पूरा भएपछि सबै यस यज्ञमा स्वाहा हुन्छन्। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो बनिबनाउ
ड्रामा हो, त्यसैले विघ्नहरूसँग डराउनु हुँदैन। विघ्नहरूमा यादको यात्रालाई भुल्नु
हुँदैन। ध्यान रहोस्– यादको यात्रा कहिल्यै रोकिनु हुँदैन।
२) पारलौकिक बाबाको परिचय सबैलाई दिँदै पावन बन्ने युक्ति बताउनु छ। दैवी वृक्षको
कलमी लगाउनु छ।
वरदान:–
सर्व
जिम्मेवारीको बोझ बाबालाई दिएर सदा आफ्नो उन्नति गर्ने सहजयोगी भव
जुन बच्चाले बाबाको
कार्यलाई सम्पन्न गर्ने जिम्मेवारीको संकल्प लिन्छ, उसलाई बाबाले पनि त्यति नै
सहयोग दिनुहुन्छ। केवल जति पनि व्यर्थको बोझ छ, त्यो बाबा माथि छोडिदेऊ। बाबाको
बनेर बाबा माथि जिम्मेवारीहरूको बोझ छोड्नाले सफलता पनि धेरै र उन्नति पनि सहज
हुन्छ। किन र के को प्रश्नबाट मुक्त बन। विशेष फुलस्टपको स्थिति रह्यो भने सहजयोगी
बनेर अतीन्द्रिय सुखको अनुभव गरिरहने छौ।
स्लोगन:–
दिल र दिमागमा
इमान्दारिता भएमा बाबा र परिवारको विश्वास पात्र बन्छौ।