17.06.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादमा रह्यौ भने टाढा भएर पनि साथमा हुन्छौ , यादले साथको पनि अनुभव हुन्छ र विकर्म पनि विनाश हुन्छ।”

प्रश्न:–
दूरदेशी बाबाले बच्चाहरूलाई दूरदर्शी बनाउनको लागि कुनचाहिँ ज्ञान दिनुहुन्छ?

उत्तर:–
आत्मा कसरी चक्रमा भिन्न-भिन्न वर्णहरूमा आउँछ, यसको ज्ञान दूरदर्शी बाबाले नै दिनुहुन्छ। तिमीलाई थाहा छ– अहिले हामी ब्राह्मण वर्णका हौं, यस भन्दा पहिला जब ज्ञान थिएन तब शूद्र वर्णका थियौं, त्यस भन्दा पहिला वैश्य... वर्णका थियौं। दूरदेशमा रहने बाबा आएर यो दूरदर्शी बन्ने सारा ज्ञान बच्चाहरूलाई दिनुहुन्छ।

गीत:–
जो पिया के साथ है.....

ओम् शान्ति ।
जो ज्ञान सागरका साथमा छन् उनीहरूको लागि ज्ञान बर्सात हुन्छ। तिमी बाबाको साथमा छौ नि। बेलायतमा छौ वा जहाँसुकै भए पनि साथमा छौ। याद त गर्छौ नि। जो बच्चाहरू यादमा रहन्छन्, उनीहरू सदैव साथमा हुन्छन्। यादमा रहनाले साथमा रहन्छन् र विकर्म विनाश हुन्छ। फेरि सुरु हुन्छ विकर्माजित सम्वत्। फेरि जब रावण राज्य हुन्छ तब भन्छन् राजा विकर्मको सम्वत्। त्यो विकर्माजित, यो विकर्मी। अहिले तिमी विकर्माजित बनिरहेका छौ। फेरि तिमी विकर्मी बन्छौ। यस समयमा सबै अति विकर्मी छन्। कसैलाई पनि आफ्नो धर्मको बारेमा थाहा छैन। आज बाबाले एउटा सानो प्रश्न सोध्नुहुन्छ– के सत्ययुगमा देवताहरूले हामी आदि सनातन देवी-देवता धर्मका हौं भनेर जानेका हुन्छन्? जसरी तिमीले सम्झन्छौ– हामी हिन्दु धर्मका हौं, कसैले भन्छ हामी क्रिश्चियन धर्मका हौं। त्यसैगरी के त्यहाँ देवताहरूले आफूलाई देवी-देवता धर्मको सम्झन्छन्? विचार गर्ने कुरा छ नि। त्यहाँ अर्को कुनै धर्म नै हुँदैन जसले गर्दा सम्झून्– हामी फलानो धर्मका हौं। यहाँ धेरै धर्म छन्, त्यसैले पहिचानको लागि अलग-अलग नाम राखेका छन्। त्यहाँ त हुन्छ नै एक धर्म त्यसैले हामी यो धर्मका हौं भन्नु पर्ने आवश्यकता रहँदैन। उनीहरूलाई थाहा पनि हुँदैन– कुनै धर्म पनि हुन्छ, उनीहरूकै राजाई हुन्छ। अहिले तिमीलाई थाहा छ– हामी आदि सनातन देवी-देवता धर्मका हौं। देवी-देवता अरू कसैलाई भन्न सकिँदैन। पतित भएको कारणले आफूलाई देवता भन्न सक्दैनन्। पवित्रलाई नै देवता भनिन्छ। त्यहाँ यस्तो कुनै कुरा हुँदैन। कसैसँग तुलना गर्न सकिँदैन। अहिले तिमी संगमयुगमा छौ, जानेका छौ आदि सनातन देवी-देवता धर्म फेरि स्थापना भइरहेको छ। त्यहाँ त धर्मको कुरा नै हुँदैन। हुन्छ नै एक धर्म। यो पनि बच्चाहरूलाई सम्झाइएको छ, यो जुन भन्छन्– महाप्रलय हुन्छ अर्थात् केही पनि रहँदैन, यो पनि गलत हो। बाबाले बसेर सम्झाउनु हुन्छ– ठीक के हो? शास्त्रमा त जलमय भएको देखाउँछन्। बाबाले सम्झाउनु हुन्छ– भारतवर्ष बाहेक अरू सबै जलमय हुन्छ। यति ठूलो सृष्टि के गर्ने? एउटै भारतवर्षमा नै हेर कति गाउँहरू छन्। पहिला जंगल थियो फेरि त्यहाँ वृद्धि हुँदै गयो। त्यहाँ त केवल तिमी आदि सनातन देवी-देवता धर्मका मात्रै रहन्छौ। यो कुरा तिमी ब्राह्मणहरूको बुद्धिमा बाबाले धारणा गराउँदै हुनुहुन्छ। अहिले तिमीलाई थाहा छ– उच्च भन्दा उच्च शिवबाबा को हुनुहुन्छ? उहाँको पूजा किन गरिन्छ? आँक आदिको फूल किन चढाइन्छ? उहाँ त निराकार हुनुहुन्छ नि। भन्छन् नाम रूपबाट न्यारा हुनुहुन्छ। तर नाम रूपबाट न्यारा त कुनै चीज हुँदैन। जसलाई फूल आदि चढाउँछन् ती को हुन्? पहिला पहिला पूजा उहाँको हुन्छ। मन्दिर पनि उहाँका बन्छन् किनकि सारा दुनियाँका बच्चाहरूको सेवा गर्नुहुन्छ। मनुष्यको नै सेवा गरिन्छ नि। यस समयमा तिमी आफूलाई देवी-देवता धर्मको कहलाउन सक्दैनौ। तिमीलाई थाहा पनि थिएन– हामी देवता थियौं र फेरि अहिले बनिरहेका छौं। अहिले बाबाले सम्झाइरहनु भएको छ। सम्झाउनु पर्छ– यो ज्ञान बाबा बाहेक अरू कसैले दिन सक्दैन। उहाँलाई नै भनिन्छ ज्ञानका सागर, नलेजफुल। गाइएको छ– रचयिता र रचनालाई ऋषि-मुनि आदि कसैले जानेका छैनन्। नेति-नेति भन्दै आएका छन्। जसरी सानो बच्चालाई के ज्ञान हुन्छ र? जति ठूलो हुँदै जान्छ, बुद्धि खुल्दै जान्छ। बुद्धिमा आउँदै जान्छ, बेलायत कहाँ छ, यो कहाँ छ। तिमी बच्चाहरूले पनि यो बेहदको ज्ञानलाई केही पनि जान्दैनथ्यौ। यिनले पनि भन्छन् मैले शास्त्र आदि पढ्थें तर केही पनि बुझ्दैनथें। मनुष्य नै यस ड्रामामा कलाकार हुन् नि।

सारा खेल दुई कुरामा बनेको छ। हार र जित। सत्ययुग आदिको समयमा पवित्र धर्म थियो, यस समयमा छ अपवित्र धर्म। अपवित्रताको कारणले आफूलाई देवता भन्न सक्दैनन् फेरि पनि श्री श्री नाम राखिदिन्छन्। तर श्री अर्थात् श्रेष्ठ। श्रेष्ठ भनिन्छ नै पवित्र देवताहरूलाई। श्रीमत भगवानुवाच भनिन्छ नि। अब श्री को ठहरियो? जो बाबाको सम्मुख बसेर श्री बन्छन् या जसले आफूलाई श्री श्री कहलाएका छन्? बाबाको कर्तव्यको आधारमा जुन नाम राखिदिएका छन् त्यो पनि आफूमाथि राखिदिन्छन्। यी सबै हुन् सामान्य कुरा। फेरि पनि बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! एक बाबालाई याद गर्दै गर। यो नै बशीकरण मन्त्र हो। तिमीले रावणमाथि विजय पाएर जगतजित बन्छौ। घरी-घरी आफूलाई आत्मा सम्झ। यो शरीर त यहाँ ५ तत्त्वले बनेको छ। बन्छ, छुट्छ फेरि बन्छ। अब आत्मा त अविनाशी छ। अविनाशी आत्मालाई अहिले अविनाशी बाबाले पढाइरहनु भएको छ, संगमयुगमा। चाहे जतिसुकै विघ्न आदि परे पनि, मायाको तुफान आए पनि तिमी बाबाको यादमा बस। तिमीले सम्झन्छौ– हामी नै सतोप्रधान थियौं फेरि तमोप्रधान बनेका छौं। तिमीमा पनि नम्बरवारले जानेका छन्। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीले नै सबैभन्दा पहिला भक्ति गरेका हौं। अवश्य पनि जसले पहिला सुरुमा भक्ति गरे उनले नै शिवको मन्दिर बनाए किनकि धनवान पनि उनीहरू नै हुन्छन् नि। ठूला राजालाई देखेर अरू राजाहरू र प्रजाले पनि त्यसै गर्नेछन्। यो सबै हो विस्तारको कुरा। एक सेकेण्डमा जीवनमुक्ति भनिन्छ। फेरि सम्झाउन कति वर्ष लाग्छ। ज्ञान त सहज छ, त्यसमा यति समय लाग्दैन, जति यादको यात्रामा लाग्छ। पुकार्छन् पनि– बाबा आउनुहोस्, आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्। यस्तो भन्दैनन्– बाबा हामीलाई विश्वको मालिक बनाउनुहोस्। सबैले भन्छन्– पतितबाट पावन बनाउनुहोस्। पावन दुनियाँ भनिन्छ सत्ययुगलाई, यसलाई पतित दुनियाँ भनिन्छ। पतित दुनियाँ भन्छन् पनि, तर आफूलाई पतित सम्झदैनन्। आफूप्रति घृणा राख्दैनन्। तिमीले कसैको हातले बनाएको खादैनौ भने भन्छन्– के हामी अछूत हौं? अरे, तिमी स्वयंले भन्छौ नि। पतित त सबै छन् नि। तिमीले भन्छौ पनि– हामी पतित हौं, यी देवताहरू पावन हुन्। त्यसैले पतितलाई के भनिन्छ। गायन छ नि– अमृतलाई छोडेर विष किन खाने? विष त खराब हो नि। बाबा भन्नुहुन्छ– यो विषले तिमीलाई आदि मध्य अन्त्य दु:ख दिन्छ। तर यसलाई विष कहाँ सम्झन्छन् र। जसरी अम्मली अम्मल विना रहन सक्दैन, रक्सीको बानी परेकाले रक्सी विना रहन सक्दैन। लडाइँको समयमा उनीहरूलाई रक्सी पिलाएर, नशा चढाएर लडाइँमा पठाउँछन्। नशा मिल्यो, पुग्यो। सम्झन्छन्– हामीलाई यस्तो गर्नु छ। उनीहरूलाई मर्ने डर हुँदैन। जहाँ पनि आफूसँग बम्ब लिएर बम्ब सहित गिर्छन्। गायन पनि छ– मूसलको लडाइँ लाग्यो, सही कुरा अहिले तिमीले यथार्थमा देखिरहेका छौ। पहिला त केवल पढ्थ्यौ, पेटबाट मूसल निकाले फेरि यो गरे। अहिले तिमीले सम्झन्छौ– पाण्डव को हुन्, कौरव को हुन्? स्वर्गवासी बन्नको लागि पाण्डवहरूले जीवन छँदै देह-अभिमानबाट गल्ने पुरुषार्थ गरे। तिमी अहिले यो पुरानो चोला छोड्ने पुरुषार्थ गर्छौ। भन्छौ नि पुरानो चोला छोडेर नयाँ लिनु छ। बाबाले बच्चाहरूलाई नै सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प आउँछु। मेरो नाम शिव हो। शिव जयन्ती पनि मनाउँछन्। भक्तिमार्गको लागि कति मन्दिर आदि बनाउँछन्। नाम पनि धेरै राखिदिएका छन्। देवीहरूको पनि यस्तै नाम राखिदिन्छन्। यस समयमा तिम्रो पूजा भइरहेको छ। यो पनि तिमी बच्चाहरूले नै जानेका छौ– जसको हामी पूजा गर्थ्यौं उहाँले हामीलाई पढाइरहनु भएको छ। जुन लक्ष्मी-नारायणका हामी पुजारी थियौं उनै हामी अहिले स्वयं बनिरहेका छौं। यो ज्ञान बुद्धिमा छ। स्मरण गर्दै जाऊ र फेरि अरूलाई पनि सुनाऊ। धेरै छन् जसले धारणा गर्न सक्दैनन्। बाबा भन्नुहुन्छ– बढी धारणा गर्न सक्दैनौ भने हर्जा छैन। यादको त धारणा छ नि। बाबालाई नै याद गरिराख। जसले मुरली पढ्न सक्दैनन्, यहाँ बसेर स्मरण गरुन्। यहाँ कुनै बन्धन झंझट आदि छैन। घरमा बाल-बच्चा आदिको वातावरण देखेर त्यो नशा गुम हुन्छ। यहाँ चित्रहरू पनि राखिएका छन्। कसैलाई पनि सम्झाउन धेरै सहज छ। उनीहरूले त गीता आदि पूरै कण्ठ गर्छन्। सिक्खहरूलाई पनि ग्रन्थ कण्ठै हुन्छ। तिमीलाई के कण्ठ गर्नु छ? बाबा। तिमीले भन्छौ पनि बाबा, यो हो बिल्कुलै नयाँ चीज। यो एउटै समय हो जबकि तिमीले आफूलाई आत्मा सम्झेर एक बाबालाई याद गर्नु छ। ५ हजार वर्ष पहिला पनि सिकाएको थिएँ, अरू कसैको तागत छैन जसले यसरी सम्झाउन सकोस्। ज्ञान सागर हुनुहुन्छ नै एक बाबा, अरू कोही हुन सक्दैन। ज्ञान सागर बाबाले नै तिमीलाई सम्झाउनु हुन्छ। आजकल यस्ता पनि धेरै निस्केका छन् जसले भन्छन् मैले अवतार लिएका हुँ। सत्यको स्थापनामा कति विघ्न पर्छन् तर गाइएको छ– सत्यको नाउ हल्लिन्छ, तर डुब्दैन।

अहिले तिमी बच्चाहरू बाबाको पासमा आउँछौ, त्यसैले तिम्रो दिलमा कति खुसी हुनुपर्छ। पहिला यात्रामा जान्थ्यौ, दिलमा के आउँथ्यो? अहिले घरबार छोडेर यहाँ आउँदा के ख्याल आउँछ? हामी बापदादाको पासमा जान्छौं। बाबाले यो पनि सम्झाउनु भएको छ– मलाई केवल शिवबाबा भनिन्छ। जसमा प्रवेश गर्नुभएको छ, उनी हुन् ब्रह्मा। वर्ण हुन्छन् नि। पहिलो-पहिलो वर्ण ब्राह्मणहरूको हो फेरि देवताहरूको वर्ण हुन्छ। अहिले दूरदेशी बाबाले बच्चाहरूलाई दूरदर्शी बनाउनु हुन्छ। तिमीलाई थाहा छ– आत्मा कसरी सारा चक्रमा भिन्न-भिन्न वर्णमा आएको छ। यसको ज्ञान दूरदर्शी बाबाले नै दिनुहुन्छ। तिमीले विचार गर्छौ अहिले हामी ब्राह्मण वर्णका छौं, यस भन्दा पहिला जब ज्ञान थिएन शूद्र वर्णका थियौं। हाम्रा हुनुहुन्छ ग्रेट-ग्रेट ग्रेन्ड फादर। ग्रेट शूद्र, ग्रेट वैश्य, ग्रेट क्षत्रिय.... त्यस भन्दा पहिला ग्रेट ब्राह्मण थियौं। अब यी कुरा बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। यसलाई भनिन्छ दूरदर्शीताको ज्ञान। दूरदेशमा रहनेवाला बाबा आएर बच्चाहरूलाई दूरदेशको सारा ज्ञान दिनुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो बाबा दूरदेशबाट यिनमा आउनु हुन्छ। यो पराइ देश पराइ राज्य हो। शिवबाबाको आफ्नो शरीर छैन। उहाँ हुनुहुन्छ ज्ञानका सागर, स्वर्गको राज्य पनि उहाँले दिनु हुन्छ। कृष्णले कहाँ दिन्छन् र। शिवबाबाले नै दिनुहुन्छ। कृष्णलाई बाबा भन्न मिल्दैन। बाबाले राज्य दिनुहुन्छ, बाबाबाट नै वर्सा मिल्छ। अब हदको वर्सा सबै पूरा हुन्छ। सत्ययुगमा तिमीलाई यो थाहा हुँदैन– हामीले संगममा २१ जन्मको वर्सा लिएका थियौं। यो अहिले जानेका छौ– हामीले २१ जन्मको वर्सा आधाकल्पको लागि लिइरहेका छौं। २१ पींढी अर्थात् पूरा आयु। जब शरीर बूढो हुन्छ तब समयमा शरीर छोड्छौ। जसरी सर्पले पुरानो काँचुली छोडेर नयाँ लिन्छ। हाम्रो पनि पार्ट खेल्दा-खेल्दा यो चोला पुरानो भइसकेको छ।

तिमी सच्चा-सच्चा ब्राह्मण हौ। तिमीलाई नै कुमालकोटी भनिन्छ। तिमीले कीराहरूलाई आफू समान ब्राह्मण बनाउँछौ। तिमीलाई भनिन्छ– कीराहरूलाई ल्याएर बसेर भूँ-भूँ गर। कुमालकोटीले पनि भूँ-भूँ गर्छ। फेरि कुनैको त प्वाँख आउँछ, कोही मर्छन्। सबै उदाहरण अहिलेको नै हो। तिमी प्रिय बच्चा हौ, बच्चाहरूलाई नूरे रत्न भनिन्छ। बाबा भन्नुहुन्छ– नूरे रत्न। तिमीलाई आफ्नो बनाएको छु त्यसैले तिमी पनि मेरो भयौ नि। यस्तो बाबालाई जति याद गर्छौ पाप काटिदै जान्छ। अरू कसैलाई पनि याद गर्नाले पाप काटिदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जीवन छँदै देह-अभिमानबाट गल्ने पुरुषार्थ गर्नु छ। यस पुरानो शरीरमा अलिकति पनि ममत्व नरहोस्।

२) सच्चा ब्राह्मण बनेर कीराहरूलाई ज्ञानको भूँ-भूँ गरेर उनीहरूलाई पनि आफू समान ब्राह्मण बनाउनु छ।

वरदान:–
निराशामा पनि आशा पैदा गर्ने सच्चा परोपकारी , सन्तुष्टमणि भव

त्रिकालदर्शी बनेर हर आत्माको कमजोरीलाई चिनेर, उसको कमजोरीलाई स्वयं धारण गर्नु वा वर्णन गर्नुको बदला कमजोरीरूपी काँडालाई कल्याणकारी स्वरूपबाट समाप्त गर। काँडालाई फूल बनाउनु, स्वयं पनि सन्तुष्टमणि समान सन्तुष्ट रहनु र सबैलाई सन्तुष्ट गर्नु छ। जसलाई सबैले निराशा देखाउँछन्, यस्ता व्यक्ति वा यस्तो स्थितिमा सधैंको लागि आशाको दीपक जगाउनु अर्थात् निराशलाई शक्तिशाली बनाइदिनु– यस्तो श्रेष्ठ कर्तव्य गर्दै रह्यो भने परोपकारी, सन्तुष्टमणिको वरदान प्राप्त हुन्छ।

स्लोगन:–
परीक्षाको समयमा प्रतिज्ञा याद आओस्, तब प्रत्यक्षता हुन्छ।