20.10.20 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
हौ आध्यात्मिक , रूहानी गुप्त मुक्ति सेना । तिमीले सारा दुनियाँलाई मुक्त गर्नु छ
, डुब्न लागेको नाउ लाई पार लगाउनु छ।”
प्रश्न:–
संगममा बाबाले
कुनचाहिँ युनिभर्सिटी खोल्नु हुन्छ जुन सारा कल्पमा हुँदैन?
उत्तर:–
राजाई प्राप्त गर्नको लागि पढ्ने ईश्वरीय विश्व-विद्यालय वा कलेज संगममा बाबाले नै
खोल्नु हुन्छ। यस्तो युनिभर्सिटी सारा कल्पमा हुँदैन। यस युनिभर्सिटीमा पढाइ पढेर
तिमी डबल सिरताज राजाहरूका राजा बन्छौ।
ओम् शान्ति ।
प्यारा रूहानी
बच्चाहरूसँग पहिला पहिला बाबा सोध्नु हुन्छ– जब यहाँ आएर बस्छौ, आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर्छौ? किनकि यहाँ तिमीले कुनै धन्दा आदि पनि गर्नु पर्ने छैन र
मित्र सम्बन्धी आदि पनि छैनन्। तिमीले यो विचार गरेर आउँछौ, हामी बेहदको बाबालाई
भेट्न जान्छौं। कसले भन्छ? आत्माले शरीरद्वारा बोल्छ। पारलौकिक बाबाले यो शरीर लोनमा
लिनु भएको छ, यिनीद्वारा सम्झाउनु हुन्छ। यो एकपल्ट मात्रै हुन्छ जब बेहदको बाबा
आएर सिकाउनु हुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले तिम्रो बेडा पार हुन्छ।
हरेकको बेडा डुबेको छ, जसले जति पुरुषार्थ गर्छ त्यति बेडा पार हुन्छ। गाउँछन् नि–
हे माझी, मेरो बेडा पार लगाऊ...। वास्तवमा हरेक आफ्नो पुरुषार्थले पारी जानु छ। जसरी
पौडी खेल्न सिकेपछि आफैं तैरिन्छ। ती सबै हुन् शारीरिक कुरा। यी हुन् आत्मिक कुरा।
तिमीलाई थाहा छ– आत्मा अहिले दलदलमा फँसेको छ। यसको बारेमा हरिणको पनि उदाहरण
दिन्छन्। पानी सम्झिन्छ, तर त्यो हुन्छ हिलो, त्यसैले त्यसमा फँस्छ। कहिलेकाहीं पानी
जहाज, मोटरहरू पनि हिलोमा फँस्न पुग्छन्। फेरि तिनीहरूलाई निकाल्छन्। ती सबै हुन्
मुक्ति सेना। तिमी हौ रूहानी। तिमीलाई थाहा छ– सबै मायाको दलदलमा फँसेका छन्, यसलाई
मायाको दलदल भनिन्छ। यसबाट तिमी कसरी निस्कन सक्छौ, बाबा आएर सम्झाउनु हुन्छ, उहाँले
मुक्त गर्नु हुन्छ। त्यसमा मदत चाहिन्छ मनुष्यलाई मनुष्यको। यहाँ त फेरि आत्मा गएर
दलदलमा फँसेको छ। बाबाले मार्ग बताउनु हुन्छ, यसबाट तिमी कसरी निस्कन सक्छौ। फेरि
अरूलाई पनि मार्ग बताउन सक्छौ। आफूलाई र अरूलाई पनि मार्ग बताउनु छ, तिम्रो नाउ यस
विषय सागरबाट क्षीरसागरमा कसरी जान्छ। सत्ययुगलाई भनिन्छ क्षीरसागर अर्थात् सुखको
सागर। यो हो दु:खको सागर। रावणले दु:खको सागरमा डुबाइदिन्छ। बाबा आएर सुखको सागरमा
लैजानु हुन्छ। तिमीलाई रूहानी मुक्ति सेना भनिन्छ। तिमीले श्रीमत अनुसार सबैलाई
मार्ग देखाउँछौ। हरेकलाई सम्झाउँछौ, दुई बाबा हुनुहुन्छ– एक हदको, अर्को बेहदको।
लौकिक पिता हुँदा हुँदै पनि सबैले पारलौकिक पितालाई याद गर्छन्, तर उहाँलाई बिल्कुलै
चिनेका छैनन्। बाबाले कुनै ग्लानि गर्नुहुन्न, तर ड्रामाको रहस्य सम्झाउनु हुन्छ।
यो पनि सम्झाउनको लागि भन्नुहुन्छ– यस समयमा सबै मनुष्य पाँच विकाररूपी दलदलमा
फँसेका आसुरी सम्प्रदाय हुन्। आसुरी सम्प्रदायले गएर दैवी सम्प्रदायलाई नमन गर्छन्
किनकि उनीहरू सम्पूर्ण निर्विकारी हुन्। संन्यासीहरूलाई नमस्कार गर्छन्, उनीहरू पनि
घरबार त्यागेर जान्छन्। पवित्र रहन्छन्। यी संन्यासीहरू र देवताहरूमा रात दिनको फरक
छ। देवताहरूको त जन्म पनि योगबलद्वारा हुन्छ। यी कुरालाई कसैले पनि जानेका छैनन्।
सबैले भन्छन्, ईश्वरको गति-मति न्यारा छ, ईश्वरको अन्त्य पाउन सकिंदैन। केवल ईश्वर
वा भगवान भन्दा त्यति स्नेह आउँदैन। सबैभन्दा राम्रो शब्द हो बाबा। मनुष्यले बेहदका
बाबालाई चिनेका छैनन् त्यसैले मानौं अनाथ छन्।
अखबारमा पनि निकालेका छन्, मानिसले के भन्छन् अनि भगवान के भन्नुहुन्छ? बाबाले कुनै
गाली गर्नुहुन्न, बच्चाहरूलाई सम्झाउनु हुन्छ किनकि बाबाले त सबैको बारेमा
जान्नुहुन्छ नि। सम्झाउनको लागि भन्नुहुन्छ– यिनमा आसुरी गुण छ, आपसमा लडिरहन्छन्।
यहाँ त लड्ने आवश्यकता नै छैन। ती हुन् कौरव अर्थात् आसुरी सम्प्रदाय, यो हो दैवी
सम्प्रदाय। बाबा सम्झाउनु हुन्छ– मनुष्यले मनुष्यलाई मुक्ति वा जीवनमुक्तिको लागि
राजयोग सिकाऊन्, यो हुन सक्दैन। यस समयमा बाबाले नै तिमी आत्माहरूलाई सिकाइरहनु भएको
छ। देह-अभिमानी र देही-अभिमानीमा फरक हेर कति छ। देह-अभिमानले तिमी गिर्दै आएका हौ।
बाबा एकैपटक आएर तिमीलाई देही-अभिमानी बनाउनु हुन्छ। यस्तो होइन– तिमीले सत्ययुगमा
देहसँग सम्बन्ध राख्दैनौ। त्यहाँ यो ज्ञान नै रहँदैन– म आत्मा परमपिता परमात्माको
सन्तान हुँ। यो ज्ञान अहिले मात्रै तिमीलाई मिल्छ, जुन प्राय: लोप हुन्छ। तिमीले नै
श्रीमत अनुसार चलेर प्रारब्ध पाउँछौ। बाबा आउनु हुन्छ नै राजयोग सिकाउन। यस्तो पढाइ
अरू कुनै हुँदैन। डबल शिरताजधारी राजाहरू सत्ययुगमा नै हुन्छन्। फेरि सिंगल
ताजधारीहरूको राज्य चल्छ, अहिले त्यो राजाईं छैन, प्रजाको प्रजामाथि राज्य छ। तिमी
बच्चाहरूले अहिले राजाईको लागि पढ्छौ, यसलाई ईश्वरीय विश्व विद्यालय भनिन्छ। तिम्रो
नाम पनि लेखिएको छ। तिनीहरूले गीता पाठशाला भनेर नाम त राख्छन्, तर कसले पढाउनु
हुन्छ? श्रीकृष्ण भगवानुवाच भनिदिन्छन्। अब कृष्णले त पढाउँदैनन्। कृष्ण त आफैं
पाठशालामा पढ्न जान्छन्। राजकुमार-राजकुमारीहरू कस्तो स्कुलमा जान्छन्, त्यहाँको
भाषा नै बेग्लै हुन्छ। यस्तो पनि होइन, संस्कृतमा गीता सुनाइएको हो। यहाँ त अनेकौं
भाषाहरू छन्। जो जस्तो राजा हुन्छ, उसले आफ्नो भाषा चलाउँछ। संस्कृत भाषा कुनै
राजाहरूको भाषा होइन। बाबाले कुनै संस्कृत सिकाउनु हुन्न। बाबाले त राजयोग सिकाउनु
हुन्छ, सत्ययुगको लागि।
बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसलाई जित। प्रतिज्ञा गराउनु हुन्छ, यहाँ जति पनि
आउँछन् उनीहरूलाई प्रतिज्ञा गराइन्छ। कामलाई जित्नाले तिमी जगतजित बन्छौ। यो हो
मुख्य विकार। यो हिंसा द्वापरदेखि चल्दै आउँछ, जहाँबाट वाममार्ग सुरु भयो। देवताहरू
कसरी वाममार्गमा जान्छन्, उनीहरूको पनि मन्दिर छ। त्यहाँ धेरै फोहोरी चित्रहरू
बनाएका छन्। बाँकी वाममार्गमा कहिले गए, त्यसको तिथि-मिति त छँदै छैन। सिद्ध हुन्छ–
काम चितामा बस्नाले कालो बन्छन् तर नाम रूप त बदलिन्छ नि। काम चितामा चढ्नाले
तमोप्रधान बन्न पुग्छन्। अहिले त पाँच तत्त्वहरू पनि तमोप्रधान छन्, त्यसैले शरीर
पनि तमोप्रधान बन्छन्। जन्मैदेखि कोही कस्तो, कोही कस्तो हुन्छ। त्यहाँ त एकदम
सुन्दर शरीर हुन्छ। अहिले तमोप्रधान हुनाले शरीर पनि यस्ता छन्। मनुष्यले ईश्वर,
प्रभु आदि भिन्न भिन्न नामले याद गर्छन् तर ती बिचराहरूलाई थाहै छैन। आत्माले आफ्नो
बाबालाई याद गर्छ– हे बाबा, आएर शान्ति दिनुहोस्। यहाँ त कर्मेन्द्रियहरूद्वारा
पार्ट खेलिरहेका छन् त्यसैले शान्ति कसरी मिल्न सक्छ? विश्वमा शान्ति थियो जब यी
लक्ष्मी-नारायणको राज्य थियो। तर कल्पको आयु लाखौं वर्ष भनिदिएका छन् त्यसैले विचरा
मनुष्यले कसरी बुझ्न सक्छन्। जब यी देवताहरूको राज्य थियो तब एक राज्य, एक धर्म थियो
अरू कुनै खण्डमा यस्तो भनिदैन, एक धर्म एक राज्य थियो। यहाँ आत्माले माग्छ, एक
राज्य होस्। तिम्रो आत्माले जान्दछ– अहिले हामीले एक राज्य स्थापना गर्दैछौं। त्यहाँ
सारा विश्वको मालिक हामी हुन्छौं। बाबाले हामीलाई सबैथोक दिनु हुन्छ। कसैले पनि
हामीबाट हाम्रो राज्य छिनेर लिन सक्दैन। हामी सारा विश्वका मालिक बन्छौं। विश्वमा
कुनै सूक्ष्म वतन, मूलवतन आउँदैन। यो सृष्टिको चक्र यहाँ नै घुमिरहन्छ। यसलाई बाबा,
जो रचयिता हुनुहुन्छ, उहाँले नै जान्नु हुन्छ। यस्तो होइन– रचना रच्नु हुन्छ। बाबा
आउनु हुन्छ नै संगममा, पुरानो दुनियाँबाट नयाँ दुनियाँ बनाउन। दूर देशबाट बाबा आउनु
भएको छ। तिमीलाई थाहा छ– नयाँ दुनियाँ पनि तिम्रो लागि बन्छ। बाबाले हामी आत्माहरूको
शृंगार गर्दै हुनुहुन्छ। आत्माको साथै फेरि तिम्रो शरीरको पनि शृंगार हुन जान्छ।
आत्मा पवित्र भएपछि फेरि शरीर पनि सतोप्रधान मिल्छ। सतोप्रधान तत्त्वहरूले शरीर
बन्छ। ती देवी देवताहरूको सतोप्रधान शरीर हुन्छ नि, त्यसैले नेचुरल ब्युटी हुन्छ।
गायन पनि छ– धर्म नै शक्ति हो। अब शक्ति मिल्यो कहाँबाट? एक मात्र देवी देवताहरूको
धर्म हो जसबाट शक्ति मिल्छ। यी देवताहरू नै सारा विश्वका मालिक बन्छन्, अरू कोही
विश्वको मालिक बन्दैन। तिमीलाई कति शक्ति मिल्छ। लेखिएको पनि छ– आदि सनातन
देवी-देवता धर्मको स्थापना शिवबाबाले ब्रह्माद्वारा गर्नुहुन्छ। यी कुरा दुनियाँमा
कसैले कहाँ जानेका छन् र? बाबा भन्नुहुन्छ– मैले ब्राह्मण कुलको स्थापना गर्छु फेरि
उनीहरूलाई सूर्यवंशी राजाईमा ल्याउँछु। जसले राम्रोसँग पढ्छ, ऊ पास भएर सूर्यवंशीमा
आउँछ। हो सबै ज्ञानका कुरा। उनीहरूले फेरि स्थूल वाण, हतियार आदि देखाएका छन्। वाण
चलाउन पनि सिक्छन्। साना बच्चाहरूलाई पनि बन्दुक चलाउन सिकाउँछन्। तिम्रो फेरि छ
योग बाण। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्महरू विनाश हुन्छन्।
हिंसाको कुनै कुरा छैन। तिम्रो पढाइ पनि छ गुप्त। तिमी हौ आध्यात्मिक, रूहानी मुक्ति
सेना। यो कसैलाई थाहा छैन– रूहानी सेना कस्ता हुन्छन्। तिमी हौ गुप्त, आध्यात्मिक,
रूहानी मुक्ति सेना। सारा दुनियाँको तिमीले उद्धार गर्छौ। सबैका नाउ डुबेका छन्,
बाँकी सुनको लङ्का कुनै छँदै छैन। यस्तो होइन, सुनको द्वारिका तल गएको छ, त्यो
निस्केर आउँछ। द्वारिकामा पनि यिनको राज्य थियो, तर त्यो सत्ययुगमा थियो। सत्ययुगी
राजाहरूका ड्रेस नै अलग हुन्छन्, त्रेताको अलग। भिन्न-भिन्न ड्रेस, भिन्न-भिन्न रीति
रिवाज हुन्छन्। हरेक राजाको रीति रिवाज आ-आफ्नै हुन्छ। सत्ययुगको त नाम लिंदैमा दिल
खुसी हुन्छ। भन्छन्– स्वर्ग, पैराडाइज तर मनुष्यले केही पनि बुझेका छैनन्। मुख्य त
हो यो दिलवाडा मन्दिर। हुबहु तिम्रै यादगार हो। नमुना त सधैं सानो बनाइन्छ नि। यो
बिल्कुलै एक्युरेट मोडेल हो। शिवबाबा पनि हुनुहुन्छ। आदिदेव पनि हुनुहुन्छ, माथि
बैकुण्ठ देखाइएको छ। शिवबाबा हुनुहुन्छ भने अवश्य रथ पनि हुनुपर्छ। आदिदेव बसेका छन्,
यो पनि कसैलाई थाहा छैन। यी शिवबाबाको रथ हुन्। महावीरले नै राजाई प्राप्त गर्छन्।
आत्मामा तागत कसरी आउँछ, यो पनि तिमीले अहिले जानेका छौ। घरी-घरी आफूलाई आत्मा सम्झ।
हामी आत्मा जब सतोप्रधान थियौं तब पवित्र थियौं। शान्तिधाम, सुखधाममा अवश्य पवित्र
नै रहन्छन्। अब बुद्धिमा आउँछ, कति सहज कुरा छ। दुनियाँ सत्ययुगमा पवित्र थियो।
त्यहाँ अपवित्र आत्मा रहन सक्दैन। यतिका सबै पतित आत्माहरू माथि कसरी जान्छन्?
अवश्य पवित्र बनेर नै जान्छन्। आगो लाग्छ फेरि सबै आत्माहरू जान्छन्। बाँकी शरीर
रहन्छन्। यी सबै निशानीहरू पनि छन्। होलिकाको अर्थ कसैले कहाँ बुझेका छन् र। सारा
दुनियाँ यसमा स्वाहा हुनु छ। यो ज्ञान यज्ञ हो। ज्ञान शब्दलाई हटाएर रुद्र यज्ञ
भनिदिन्छन्। वास्तवमा यो हो रुद्र ज्ञान यज्ञ। यो रचना ब्राह्मणहरूद्वारा नै रचिन्छ।
सच्चा सच्चा ब्राह्मण तिमी हौ। प्रजापिता ब्रह्माका त सबै सन्तान हुन् नि।
ब्रह्माद्वारा नै मनुष्य सृष्टिको रचना हुन्छ। ब्रह्मालाई नै आदिदेव भनिन्छ, यिनको
वंशावली हुन्छ नि। जसरी अलग अलग पिँढीको वंशावली राख्छन्। तिम्रो बुद्धिमा छ– मूल
वतनमा आत्माहरूको वंशावली छ, क्रम अनुसार। शिवबाबा अनि ब्रह्मा-विष्णु-शंकर, फेरि
लक्ष्मी-नारायण आदि यो सबै हो मनुष्यहरूको वंशावली। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलार्ई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालार्ई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) रूहानी
मुक्ति सेना बनेर स्वयंलाई अनि सबैलाई सही मार्ग बताउनु छ। सारा दुनियाँलाई विषय
सागरबाट मुक्त गर्नको लागि बाबाको पूरा पूरा सहयोगी बन्नु छ।
२) ज्ञानयोगद्वारा पवित्र बनेर आत्माको शृंगार गर्नु छ, शरीरको होइन। आत्मा पवित्र
बनेपछि शरीरको शृंगार स्वत: हुन जान्छ।
वरदान:–
मन -
बुद्धिलाई मनमतबाट मुक्त गरेर सूक्ष्मवतनको अनुभव गर्ने डबल लाइट भव
संकल्प शक्ति अर्थात्
मन र बुद्धिलाई सदा मनमतबाट खाली राख्यौ भने यहाँ रहँदा पनि वतनका सबै सीन-सिनरीहरू
यस्तो स्पष्ट अनुभव हुन्छ, जसरी दुनियाँको कुनै पनि सीन स्पष्ट देखिन्छ। यो अनुभूति
गर्नको लागि कुनै पनि बोझ आफूमाथि नराख, सबै बोझ बाबालाई दिएर डबल लाइट बन।
मन-बुद्धिबाट सदा शुद्ध संकल्पको भोजन गर। कहिल्यै पनि व्यर्थ संकल्प वा विकल्पको
अशुद्ध भोजन नगर तब बोझबाट हल्का भएर उच्च स्थितिको अनुभव गर्न सक्छौ।
स्लोगन:–
व्यर्थलाई
फुलस्टप लगाएर शुभ-भावनाको स्टक फुल बनाऊ।