Seven Days Course

Intro

Day 1

Day 2

Day 3

Day 4

Day 5

Day 6

Day 7


तीसरा दिन


    सबै आत्माहरूका पिता परमात्मा एक हुनुहुन्छ र उहाँ निराकार हुनुहुन्छ

    प्रायः सर्व धर्मका व्यक्तिहरूले के भन्छन् भने परमात्मा एक हुनुहुन्छ र उहाँ सबैका पिता हुनुहुन्छ त्यसैले सबै मानिसहरू आपसमा भाइ-भाइ हुन्। तर प्रश्न उठ्छ कि पारलौकिक परमपिता को हुनुहुन्छ, जसलाई सबैले मान्दछन्? तपाईहरूले स्वीकार गरेकै कुरा हो कि हुनत प्रत्येक धर्मका धर्मपिताहरू अलगअलग छन् तर पनि प्रत्येक धर्मका अनुयायीहरू निराकार ज्योतिस्वरूप परमात्मा शिवको प्रतिमा (शिवलिङ्ग) लाई कुनै न कुनै रूपमा मान्यता दिन्छन्। नेपाल र भारतवर्षमा ठाउँठाउँमा परमपिता परमात्मा शिवका मन्दिर छन् र भक्तहरू ‘ॐ नमः शिवाय’ अर्थात् ‘तिमी नै मातापिता हौ’ इत्यादि शब्दले उहाँको गायन तथा पूजन पनि गर्दछन् र शिवलाई श्री कृष्ण तथा श्रीराम इत्यादि देवताहरूको पनि देव अर्थात् परमपूज्य मान्दछन्। तर नेपाल र भारतभन्दा बाहिर, अरू धर्मका मानिसहरूले पनि शिवलाई मान्दछन्। यहाँ चित्रमा देखाइएको छ कि शिवको स्मृति चिह्न सबै धर्ममा छ।
    अमरनाथ, विश्वनाथ, सोमनाथ र पशुपतिनाथ आदि मन्दिरहरूमा परमपिता परमात्मा शिवका स्मरण चिन्हहरू छन्। ‘गोपेश्वर’ तथा ‘रामेश्वरका’ मन्दिरहरूमा स्पष्ट छ कि ‘शिव’ श्रीकृष्ण तथा श्रीरामका पनि पूज्य हुनुहुन्छ। राजा विक्रमादित्यले पनि शिवको पूजा गर्नुहुन्थ्यो। मुसलमानहरूको मुख्य तीर्थ मक्कामा पनि एक यस्तै आकारको ढुंगा (शिला) छ र सबै मुसलमान यात्रीहरू यसलाई बडो प्यार वा सम्मानले चुम्बन गर्दछन्। त्यसलाई उनीहरूले ‘संगेअसवद्’ भन्दछन् र इब्राहीम तथा मुहम्मदद्वारा त्यसको स्थापना गरिएको मान्दछन्। तर आज उनीहरूपनि यस रहस्यलाई जान्दैनन्। उनीहरूको धर्ममा बुतपरस्ती (प्रतिमापूजा) को मान्यता नभए तापनि यस आकारको ढुंगाको किन स्थापना गरियो र त्यसलाई त्यति प्यारले चुम्बन गर्ने प्रथा किन चल्यो? इटालीमा कयौं रोमन क्याथोलिक इसाईहरू पनि यसै आकारको प्रतिमालाई आफ्नो ढंगले पुज्दछन्। ईसाइहरूका धर्मसंस्थापक इसाले तथा सिक्ख धर्मका धर्मसंस्थापक नानकले पनि परमात्मालाई एक निराकार ज्योति नै मानेका छन्। यहूदीहरू परमात्मालाई ‘जेहोवा’ नाउँले पुकार गर्दछन् जो नाम शिव को नै रूपान्तर गरिएको प्रतीत हुन्छ। जापानमा पनि बौद्ध धर्मका कतिपय अनुयायीहरू यसै प्रकारको प्रतिमालाई आफ्नो अगाडि राखेर त्यसमाथि आफ्नो मन एकाग्र गर्दछन् तथा महावीरले पनि ज्योति स्वरूपमा नै ध्यान एकाग्र गर्नको लागि भनेका थिए।
    तर समयान्तरमा सबै धर्मका मानिसहरू के मूल कुरा बिर्सन पुगे भने शिवलिङ्ग सबै मानवआत्माहरूको परमपिता परमात्माको स्मरण चिह्न हो। यदि मुसलमानहरू यस कुरालाई जान्दथे भने उनीहरू सोमनाथको मन्दिरलाई कहिले पनि लुट्ने थिएनन् बरू मुसलमान, ईसाई आदि सबै धर्मका अनुयायी भारतलाई परमपिता परमात्माको अवतरणभूमि मानेर यसलाई आफ्नो सबभन्दा मुख्य तीर्थ मान्ने थिए र यस प्रकार संसारको इतिहास नै केही भिन्न हुने थियो। तर एक पितालाई बिर्सिनाको कारणले संसारमा लडाईझगडा दुःख तथा क्लेश भएको छ र सबै टुहुरा तथा कङ्गाल भएका छन्।

    परमपिता परमात्मा र उहाँको दिव्य कर्तव्य

     

    सन्मुखमा परमपिता परमात्मा ज्योतिविन्दु शिवको जो चित्र दिइएको छ, त्यसद्वारा सम्झाइएको छ कि कलियुगको अन्त्यमा धर्मग्लानि अथवा अज्ञानरात्रिको समयमा, शिव सृष्टिको कल्याण गर्नको लागि सबभन्दा पहिले तीन सूक्ष्म देवता ब्रह्मा, विष्णु र शंकरलाई रच्नुहुन्छ। यसै कारणले शिवलाई ‘त्रिमूर्ति शिव’ भनिन्छ। तीन देवताहरूलाई रचिसकेपछि उहाँ स्वयं यस मानवलोकमा एक साधारण एवं वृद्ध भक्तको शरीरमा अवतरित हुनुहुन्छ जसको नाऊँ उहाँले ‘प्रजापिता ब्रह्मा’ राख्नुहुन्छ।

    प्रजापिता ब्रह्माद्वारा स्थापना

    प्रजापिता ब्रह्माद्वारा नै परमात्मा शिव मानवआत्माहरूको पिता, शिक्षक तथा सद्गुरूको रूपमा भेटिनुहुन्छ र सहज गीताज्ञान तथा सहज राजयोग सिकाएर उनीहरूको सद्गति गर्नुहुन्छ अर्थात् जीवनमुक्ति दिनुहुन्छ र स्वर्णिम सत्ययुगको स्थापना गर्नुहुन्छ।

    शंकरद्वारा कलियुगी सृष्टिको महाविनाश

    कलियुगको अन्त्यमा प्रजापिता ब्रह्माद्वारा सत्ययुगी दैवी सृष्टिको स्थापनाको साथसाथै परमपिता परमात्मा शिव पुरानो आसुरी सृष्टिको महाविनाशको तैयारी पनि शुरू गराइदिनुहुन्छ। परमात्मा शिव शंकर द्वारा विज्ञानगर्वित तथा विपरीतबुद्धि अमेरिकनहरू तथा यूरोपवासी (यादव) हरूलाई प्रेरित गरेर उनीहरूद्वारा एटम र हाईड्रोजन बम तथा मिसाइल्स तैयार गराउनुहुन्छ जसलाई कि महाभारतमा ‘मूसल’ तथा ‘ब्रह्मास्त्र’ भनिएको छ। यता उनीहरू जो भारतमा पनि देहअभिमानी (शरीर भानमा रहने धर्मभ्रष्ट तथा विपरितबुद्धि हुनेहरू (जसलाई महाभारतको भाषामा कौरव भनिएको छ) लाई पारस्परिक युद्ध को लागि प्रेरित गर्नुहुन्छ ।

    विष्णुद्वारा पालना

    विष्णुका चार भुजाहरू मध्ये दुई भुजा (पाखुरा) श्रीनारायण र दुई भुजा श्रीलक्ष्मीका प्रतीक हुन्। शंख उहाँको पवित्र वचन अथवा ज्ञानघोषको निशानी हो, ‘स्वदर्शनचक्र’ आत्मा (स्व) को अथवा सृष्टि चक्रको ज्ञानको प्रतीक हो, ‘कमल पुष्प’ संसारमा रहेरपनि अलिप्त तथा पवित्र रहने सूचक हो तथा ‘गदा’ मायामाथि अथवा पाँच विकारहरूमाथि विजयको चिन्ह हो। अतः मानवआत्माहरूको अगाडि विष्णु चतुर्भुजको लक्ष्य राखेर परमात्मा पिता सम्झाउनुहुन्छ कि यी अलंकारहरूलाई धारण गर्नाले अर्थात् यिनीहरूको रहस्यलाई आफ्नो जीवनमा लागु गर्नाले नर श्रीनारायण र नारी श्रीलक्ष्मी पद प्राप्त गदर्छन् अथार्त् मानिसहरू दुइवटा ताज (श्रीपेच) भएको देवी वा देवता पद पाउन सक्दछन्। यी दुइटा ताजहरूमध्ये एक ताज प्रकाश अर्थात् प्रभामण्डल हो जो पवित्रता वा शान्तिको प्रतीक हो र दोस्रो रत्नजडित सुनको ताज हो जो सम्पत्ति अथवा सुखको वा राज्यभाग्यको सूचक हो।

    यस प्रकार परमपिता परमात्मा शिव सत्ययुगी तथा त्रेतायुगी पवित्र, दैवी सृष्टि (स्वर्ग को पालनाको संस्कार भर्नुहुन्छ। जसको फलस्वरूप नै सत्ययुगमा श्रीनारायण एवं श्रीलक्ष्मी (जो पूर्व जन्ममा प्रजापिता ब्रह्मा र सरस्वती थिए) तथा सूर्यवंशका अन्य राजा प्रजाको पालनाको कार्य गर्दछन् र त्रेतायुगमा श्रीसीता वा श्रीराम र अन्य चन्द्रवंशी राजा राज्य गर्दछन्।

    ज्ञात रहोस् कि वर्तमान समयमा परमपिता परमात्मा शिव प्रजापिता ब्रह्माद्वारा तथा तीनै देवताहरूद्वारा उपरोक्त कर्तव्य गराइरहनुभएको छ। अब हाम्रो कर्तव्य हो परमपिता परमात्मा शिव तथा प्रजापिता ब्रह्मासँग आफ्नो आत्मिक सम्बन्ध जोडेर पवित्र बन्ने पुरुषार्थ गरौं तथा सच्चा वैष्णव बनौं। मुक्ति तथा जीवनमुक्तिको ईश्वरीय जन्मसिद्ध अधिकारको लागि पूरा पुरुषार्थ गरौं।

    परमात्माको दिव्य अवतरण

    शिवको अर्थ हो ‘कल्याणकारी’। परमात्माको यो नाउँ यसरी परेको हो कि उहाँ धर्मग्लानिको समयमा जब सबै मानवआत्माहरू माया (पाँच विकारहरू) को कारण दुःखी, अशान्त, पतित एवं भ्रष्टाचारी बन्दछन् तब उनीहरूलाई पुनः पावन तथा सम्पूर्ण सुखी बनाउने कल्याणकारी कर्तव्य गर्नुहुन्छ। शिव ब्रह्मलोकमा निवास गर्नुहुन्छ। उहाँ कर्मभ्रष्ट र धर्मभ्रष्ट संसारको उद्धार गर्नको लागि ब्रह्मलोकदेखि तल उत्रेर एउटा मानिसको शरीरको आधार लिनुहुन्छ। परमात्मा शिवको यस अवतरण अथवा दिव्य एवं अलौकिक जन्मको पुनीत स्मृतिमा नै ‘शिवरात्रि’ अर्थात् शिवजयन्तीको उत्सव मनाइने गरिन्छ।

    परमात्मा शिव जुन साधारण एवं बूढो मानिसको शरीरमा अवतरित हुनुहुन्छ उनलाई उहाँले परिवर्तनपछि ‘प्रजापिता ब्रह्मा’ नाउँ दिनुहुन्छ। त्यसको यादगारमा नै शिवको प्रतिमा अगाडि उहाँको सवार (वाहन) ‘नन्दीगण’ देखाइएको हुन्छ किनकि परमात्मा पिता सबै आत्माहरूका मातापिता हुनुहुन्छ, त्यसकारण उहाँले कुनै आमाको गर्भबाट जन्म लिनु हुन्न बरू ब्रह्माको शरीरमा संनिवेश (प्रवेश) नै उहाँको दिव्य जन्म वा अवतरण हो। गायन पनि छ “अजन्मा परमात्मा शिवको दिव्य जन्मको रीति अनौठो न्यारो।”

    परमात्मा शिव कुनै पुरुषको बीजबाट अथवा आमाको गर्भबाट जन्म लिनुहुन्न किनकि उहाँ स्वयं नै सबैको मातापिता हुनुहुन्छ, मानव सृष्टिको चैतन्य बीजरूप हुनुहुन्छ तथा जन्ममर ण र कर्मबन्धनबाट मुक्त हुनुहुन्छ। अत : उहाँ एक साधारण मानिसको बुढो अवस्था भएको शरीरमा प्रवेश गर्नुहुन्छ, यसलाई नै परमात्मा शिवको दिव्य जन्म अथवा अवतरण पनि भन्न सकिन्छ किनकि जुन शरीरमा उहाँले प्रवेश गर्नुहुन्छ त्यो एउटा जन्ममरण तथा कर्मबन्धनको चक्करमा आउने मानिसको नै शरीर हुन्छ, परमात्माको आफ्नो शरीर हुँदैन।

    अतः चित्रमा यो देखाइएको छ कि जब सम्पूर्ण सृष्टि माया (अर्थात् काम, क्रोध, लोभ, मोह, अहंकार) आदि पाँच विकारहरूको पन्जामा फस्दछ तब परमात्मा शिव, जो कि आवागमनको चक्करबाट मुक्त हुनुहुन्छ, मानवआत्माहरूलाई पवित्रता, सुख र शान्तिको वरदान दिएर मायाको पन्जाबाट छुटाउनुहुन्छ। उहाँले नै सहज ज्ञान र राजयोगको शिक्षा दिनुहुन्छ तथा सवै आत्माहरूलाई परमधाममा लैजानुहुन्छ र मुक्ति एवं जीवनमुक्तिको वरदान दिनुहुन्छ।

    शिवरात्रिको चाड फाल्गुन महिना, जो कि विक्रम सम्बत्को अन्तिम महिना हुन्छ, त्यसैमा पर्दछ। त्यस समयमा कृष्ण पक्षको चतुर्दशी हुन्छ र पूर्ण अन्धकार हुन्छ। त्यस पश्चात शुक्ल पक्षको शुरुवात हुन्छ र केही दिनपछि नयाँ सम्वत् प्रारम्भ हुन्छ। अतः रात्रि जस्तै फाल्गुन महिनाको चतुर्दशी पनि आत्माहरूको अज्ञान, अन्धकार, विकार अथवा आसुरी लक्षणहरूको पराकाष्ठाको अन्तिम चरणको बोधक हो। यसपछि आत्माहरूको शुक्लपक्ष अथवा नयाँ कल्प प्रारम्भ हुन्छ, अर्थात् अज्ञान र दुःखको समयको अन्त्य हुन्छ तथा पवित्रता तथा सुखको समय शुरू हुन्छ।

    परमात्मा शिव अवतरित भएर आफ्नो ज्ञान, योग तथा पवित्रताद्वारा आत्माहरूमा आध्यात्मिक जागृति उत्पन्न गर्नुहुन्छ। यसै महत्वको फलस्वरूप भक्तजन शिवरात्रिमा जागरण गर्दछन्। यस दिन मानिसहरू उपवास व्रत आदि पनि बस्दछन्। उपवास (उप = निकट, वास = रहनु को वास्तविक अर्थ नै हो परमात्माको सम्मुख हुनु। अब परमात्मासँग योगयुक्त हुनको लागि पवित्रताको व्रत लिनु जरुरी छ। 

    शिव र शंकरमा फरक र शिवरात्रि

    धेरै जसो मानिसहरूले शिव र शंकरलाई एउटै मान्दछन् तर वास्तवमा यी दुइटामा भिन्नता छ । तपाईहरूले देख्नुभएकै छ कि दुवैका प्रतिमाहरूपनि अलग(अलग आकार भएका छन् । शिवको प्रतिमा अण्डाकार अथवा अगुंष्ठाकार हुन्छ भने महादेव शंकरको प्रतिमा चाहिं शारीरिक आकार भएको हुन्छ । यहाँ ती दुवैको अलग-अलग परिचय स्वयं परमपिता परमात्मा शिवले हामीलाई बताएको तथा अनुभव गराएको अनुसार नै स्पष्ट गरिएको छ ।

    (१) उहाँ ब्रह्मा र विष्णु जस्तै सूक्ष्म शरीरधारी हुनुहुन्छ। उहाँलाई ‘महादेव’ भनिन्छ तर उहाँलाई परमात्मा भनिदैन।

    (२) उहाँ ब्रह्मा देवता र विष्णु देवता जस्तै सूक्ष्मलोक शंकरपुरीमा निवास गर्नुहुन्छ।

    (३) ब्रह्मा देवता र विष्णु देवता जस्तै उहाँ पनि परमात्मा शिवको रचना हुनुहुन्छ।

    (४) उहाँ केवल महाविनाशको कार्य गर्नुहुन्छ, स्थापना र पालनाको कर्तव्य उहाँको होइन।

    परमपिता परमात्मा शिव

    (१) उहाँ चेतन ज्योतिबिन्दु हुनुहुन्छ र उहाँको आफ्नो स्थूल वा सूक्ष्म शरीर छैन। उहाँ परमात्मा हुनुहुन्छ।

    (२) उहाँ ब्रह्मा, विष्णु तथा शंकरको लोक अर्थात् सूक्ष्म देवलोक भन्दा पनि पर ‘ब्रह्मलोक’ (मुक्तिधाम) मा वास गर्नुहुन्छ।

    (३) उहाँ बह्मा, विष्णु तथा शंकरको पनि रचयिता अर्थात् ‘त्रिमूर्ति’ हुनुहुन्छ।

    (४) उहाँ ब्रह्माद्वारा स्थापना, शंकरद्वारा महाविनाश र विष्णुद्वारा नयाँ विश्वको पालना गराएर विश्वको कल्याण गर्नुहुन्छ।

    शिवको जन्मोत्सव रात्रिमा किन?

    (१) ‘रात्रि’ वास्तवमा अज्ञान, तमोगुण अथवा पापाचारको निशानी हो। अतः द्वापरयुग र कलियुगको समय ‘रात्रि’ भनिन्छ। कलियुगको अन्त्यमा जबकि साधु, संन्यासी, गुरू, आचार्य इत्यादि सबै मानिसहरू पतित तथा दुःखी हुन्छन् र अज्ञान निन्द्रामा सुतेका हुन्छन् जब धर्मको ग्लानि हुन्छ र जब यो भारत तथा विश्व विषयविकारहरूको कारण वेश्यालय बनेको हुन्छ, तब पतितपावन परमपिता परमात्मा शिव यस सृष्टिमा दिव्य जन्म लिनुहुन्छ। त्यसैले अरू सबैको जन्मोत्सवलाई ‘जन्मदिन’ को रूपमा मनाइन्छ तर परमात्मा शिवको जन्मदिनलाई ‘शिवरात्रि’ नै भनिन्छ। अतः यहाँ चित्रमा जो कालिमा (कालोपन) अथवा अन्धकार देखाइएको छ त्यो अज्ञानान्धाकार अथवा विषयविकारहरूको द्योतक हो।

    ज्ञान सूर्य शिव प्रकट हुनाले सृष्टिबाट अज्ञानान्धाकार तथा विकारहरूको नाश

    जब यस प्रकार अवतरण भएर ज्ञानसूर्य परमपिता परमात्मा शिव ज्ञानप्रकाश दिनुहुन्छ, केही समयमा नै ज्ञानको प्रभाव सारा विश्वमा फैलिन्छ र कलियुग तथा तमोगुणको ठाउँमा संसारमा सत्ययुग र सतोगुणको स्थापना हुन्छ अनि अज्ञानअन्धकार तथा विकारहरूको विनाश हुन्छ। सारा कल्पमा परमपिता परमात्मा शिवको एक अलौकिक जन्मबाट थोरै समयमा यो सृष्टि वेश्यालयबाट बदलिएर शिवालय बन्दछ र नरलाई श्रीनारायण तथा नारीलाई श्रीलक्ष्मी पदको प्राप्ति पनि हुन्छ। त्यसैले शिवरात्रि हीरासमान छ।

    एउटा महान् गल्ती (भूल)

    यो कति आश्चर्यको कुरा छ कि एकातिर मानिसहरू परमात्मालाई ‘माता(पिता’ र ‘पतित(पावन’ मान्दछन् भने अर्कातिर भन्दछन् ‘परमात्मा’ सर्वव्यापी हुनुहुन्छ अर्थात् उहाँ ढुंगा(मुढा, साँप, विच्छु, बराह, मगरमच्छ (गोही), चोर, डाँकु, सबैमा हुनुहुन्छ । अहो ! आफ्नो परम प्यारो, परम पावन, परमपिताको बारेमा यो भन्नु कि उहाँ कुकुर, बिरालो, सबैमा हुनुहुन्छ यो कत्ति ठूलो भूल हो ! कत्ति ठूलो पाप हो ! ! जो पिताले हामीलाई मुक्ति र जीवनमुक्तिको जन्मसिद्ध अधिकार दिनुहुन्छ र हामीलाई पतितबाट पावन बनाएर स्वर्गको राज्य दिनुहुन्छ उहाँको लागि यस्ता शब्दहरू भन्नुको मतलब उहाँप्रति कृतघ्न बन्नु त हो नि ! !

    यदि परमात्मा सर्वव्यापी हुनुहुन्थ्यो भने उहाँको शिवलिङ्ग रूपको पूजा किन हुन्छ? यदि उहाँ यत्रतत्र सर्वत्र हुनुहुन्थ्यो भने उहाँले दिव्य जन्म कसरी लिनुहुन्छ? मानिसहरू उहाँको अवतरणको लागि किन पुकार गर्थे तथा शिवरात्रिको चाड किन मनाइन्छ? यदि परमात्मा सर्वव्यापी हुनुहुन्थ्यो भने उहाँले गीताज्ञान कसरी दिनुहुन्थ्यो र गीतामा लेखिएका यी महावाक्यहरू कसरी सत्य सिद्ध हुन्थे “म परम पुरुष (पुरुषोत्तम) हुँ, म सूर्य र तारागणको प्रकाशको पहुँचबाट पनि पर परमधामको निवासी हुँ, यो सृष्टि एक उल्टो वृक्ष हो। म यसको बीज हुँ र म माथि बस्दछु।”

    “परमात्मा सर्वव्यापी हुनुहुन्छ” भन्ने मान्यतालाई भक्ति र ज्ञानले समेत खण्डन गरिसकेका छन्। किनभने यदि ज्योतिस्वरूप भगवानको कुनै नाम र रूप नै हुँदैन भने उहाँसँग न त सम्बन्ध (योग) जोड्न सकिन्छ, न त उहाँप्रति स्नेह र भक्ति नै प्रकट गर्न सकिन्छ। न त उहाँको नाउँ र कर्तव्यको नै चर्चा हुन सक्दछ, जबकि ज्ञानको अर्थ नै कसैको नाम, रूप, धाम, गुण, कर्म, स्वभाव, सम्बन्ध उसबाट हुने प्राप्ति इत्यादिको परिचय हो। अतः परमात्मालाई सर्वव्यापी मानेको कारणले आज मानिस ‘मन्मनाभव’ (मनमनले याद गर्नु तथा ‘मामेकं शरणं ब्रज’ (मेरो मात्र शरणमा पर) को ईश्वराज्ञामाथि चल्न सक्दैनन् अर्थात् बुद्धिमा एक ज्योतिस्वरूप परमपिता परमात्मा शिवको याद धारण गर्न सक्दैनन् र उहाँसँग स्नेह र सम्बन्ध जोड्न सक्दैनन् बरू उनीहरूको मन भट्किरहेको हुन्छ। परमात्मा चैतन्य हुनुहुन्छ उहाँ हाम्रो परमपिता हुनुहुन्छ, पिता कहिले पनि सर्वव्यापी हुन सक्नुहुन्न ! अतः परमपिता परमात्मालाई सर्वव्यापी मान्नाले नै सबै नरनारी योगभ्रष्ट तथा पतित भइसकेका छन् परमपिताको पवित्रता, सुख, शान्ति रूपी पुर्खौली सम्पत्तिबाट वञ्चित भई दुःखी तथा अशान्त छन्।

    अतः भक्तहरूको यो कथन कि ‘परमात्मा घटघट व्यापी हुनुहुन्छ’ यसको पनि शब्दार्थ लिनु ठीक हुँदैन। वास्तवमा ‘घट’ अर्थात् ‘हृदयलाई’ प्रेम एवं यादको स्थान मानिएको छ। द्वापर युगको शुरूमा मानिसहरूमा ईश्वर भक्ति अथवा प्रभुमा आस्था एवं श्रद्धा धेरै थियो। कुनै एक दुई व्यक्ति मात्र यस्ता हुन्थे जो परमात्मालाई मान्दैन थिए होलान्। अतः त्यस समयमा भावविभोर भक्तहरू यो भनिदिने गर्दथे कि ईश्वर घटघटवासी हुनुहुन्छ अर्थात् उहाँलाई सबैले याद र प्यार गर्दछन् र सबैको मनमा ईश्वरको चित्र बसिरहेको हुन्छ। यी शब्दहरूको अर्थ लिनु कि स्वयं ईश्वर नै सबैको हृदयमा बसिरहनु भएको छ, यो सरासर भूल (गल्ती) हो।


Intro Day 1 Day 2 Day 3 Day 4 Day 5 Day 6 Day 7

Back | Top