Seven Days Course

Intro

Day 1

Day 2

Day 3

Day 4

Day 5

Day 6

Day 7


पांचवां दिन


    कलियुग अहिले बच्चा होइन बरू बूढो भइसकेको छ

    यसको विनाश धेरै निकट छ र शीघ्र नै सत्ययुग आउँदैछ 

    आजभोलि धेरैजसो व्यक्तिहरूले यही भन्दछन् कि कलियुग बालक नै छ। अझै कलियुगको आयु लाखौं वर्ष बाँकी छ। शास्त्रहरूका अनुसार अझै सृष्टिको महाविनाश हुनमा धेरै समय बाँकी देखिन्छ।

    तर परमपिता परमात्मा भन्नुहुन्छ कि अब कलियुग बूढो भइसकेको छ। अब त सृष्टिको महाविनाशको घडी नजीक आइसकेको छ। सबैले राम्ररी देखिरहेका पनि छन् कि यो मानवसृष्टि काम, क्रोध, लोभ, मोह तथा अहंकारको चितामा जलिरहेको छ। सृष्टिको महाविनाशको लागि एटम बम, हाइड्रोजन बम तथा मुसलहरूपनि बनिसकेका छन्। अतः अब पनि यदि कोही भन्दछ कि महाविनाश टाढा छ, त्यो साँच्चै अज्ञानमा छ र कुम्भकर्णी निन्द्रामा सुतेको छ। त्यो आफ्नो अकल्याण गरिरहेको छ। अब जबकि परमपिता परमात्मा शिव अवतरित भएर ज्ञानामृत दिइरहनुभएको छ, तापनि ती व्यक्तिहरू त्यसबाट बञ्चित छन्।

    आज वैज्ञानिक एवं विद्याका विशेषज्ञ पनि के भन्दछन् भने जनसंख्या जुन तीब्र गतिले बढिरहेको छ, अन्नको उब्जाउ यस अनुपातमा बढिरहेको छैन। त्यसैले उनीहरू अनिकालको भयंकर परिणामस्वरूप महाविनाशको घोषणा गर्दछन्। पुनश्च वातावरण प्रदूषण तथा पेट्रोल, कोयला इत्यादि शक्ति स्रोतहरू केही वर्षमा समाप्त हुने घोषणा पनि वैज्ञानिकहरूले गरिरहेका छन्। पृथ्वीको तापक्रम बढनाले उत्तरी, दक्षिणी ध्रुवमा रहेका हिउँ पग्लेर पृथ्वी जलमग्न हुने आशंका पनि उत्पन्न भइरहेको छ। अन्य व्यक्तिहरू पृथ्वी ठण्डा भएर जाने कारणले हिमपात हुने कुरा बताइरहेका छन्। आज केवल रुस र अमेरिकासगँ नै लाखौं टन बम, आणविक अस्त्रहरू छन्। यसको अतिरिक्त आजको जीवन विकारी एवं तनावपूर्ण भइसकेको छ। अझै करोडौं बर्षसम्म कलियुग रहने कुरा मान्नु, यी सबै कुराहरू प्रति आँखा बन्द गर्नु मात्र हो। तर सबैलाई याद रहोस् कि परमात्मा अधर्मको विनाशबाट नै दैवी धर्मको पुनः स्थापना पनि गर्नुहुन्छ।

    अतः सबैलाई थाहा हुनुपर्दछ कि अब परमप्रिय परमपिता परमात्मा शिवले सत्ययुगी पावन एवं दैवी सृष्टिको पुनः स्थापना गराइरहनुभएको छ। उहाँले मानवलाई देवता अथवा पतितलाई पावन बनाइरहनुभएको छ। अतः अब उहाँद्वारा सहज राजयोग तथा ज्ञानको, अनमोल विद्या सिकेर जीवनलाई पावन, सतोप्रधान दैवी तथा सर्वोत्तम सुखमय बनाउने कोशिस गर्नुपर्छ। जुन व्यक्तिहरू यस्तो मानेर बसिरहेका छन् कि, अझै कलियुगको लाखौं वर्ष शेष छ, उनीहरू आफ्नो नै भाग्यलाई फर्काइरहेका छन्। अब कलियुग सृष्टि अन्तिम श्वास लिइरहेको छ, मानौ मृत्यु शैय्यामा छ। यो काम, क्रोध, लोभ, मोह र अहंकाररूपी रोगहरूद्वारा पीडित छ। अतः यस सृष्टिको आयु अरब वर्ष मान्नु भूल हो र कलियुगलाई अब बच्चा मानेर अज्ञान निद्रामा सुत्ने व्यक्तिहरू नै “कुम्भकर्ण” हुन्। जो मानिसहरू यो सन्देशलाई एक कानले सुनेर अर्को कानबाट निकाल्छन्, उनीहरूका कान नै यस्ता कुम्भ समान छन् किनकि कुम्भ बुद्धिहीन हुन्छ।

    के रावणका दश टाउकाहरू थिए? रावण कसको प्रतीक हो?

    नेपाल र भारतका व्यक्तिहरू प्रतिवर्ष रावणको पुतला बनाएर जलाउने गर्दछन् । उनीहरूको ठूलो विश्वास छ कि दश टाउका भएको रावण लङ्काको राजा थियो, ऊ एउटा ठूलो शक्तिशाली राक्षस थियो र उसले श्रीसीताको अपहरण गरेको थियो । उनीहरू यो पनि मान्दछन् कि रावण निकै ठूलो विद्वान् पनि थियो । यसैले उनीहरू उसको हातमा वेद, शास्त्र इत्यादि देखाउँछन् । साथै उनीहरू उसको टाउकोमाथि गधाको टाउको पनि देखाउँछन् जसको अर्थ उनीहरूले यो लगाउँछन् कि ऊ जिद्दी र मतिहीन थियो। तर अब परमपिता परमात्माले सम्झाउनु भएको छ कि रावण कुनै दश टाउका भएको राक्षस (मानिस) थिएन, बरू रावणको पुतला वास्तवमा नराम्रो (खराबी) कुराको प्रतीक हो। रावणका दश टाउका स्त्री र पुरुषमा भएका पाँचपाँच विकारहरूलाई प्रकट गर्दछन् र उसको तुलना एक यस्तो समाजको प्रतीक रूप हो जो यस प्रकारका विकारी स्त्री, पुरुषले बनेको होस्। त्यस समाजका मानिसहरू धेरै ग्रन्थ र शास्त्रहरू पढेका तथा विज्ञानमा उच्च शिक्षा प्राप्त पनि गरेका हुन्छन् तर पनि उनीहरू हिंसा तथा अन्य विकारहरूको वशीभूत हुन्छन्। यसप्रकार उनीहरूको विद्वत्ता उनीहरूमाथि नै बोझ भएको हुन्छ। उनीहरू उद्दण्ड भइसकेका हुन्छन् र कल्याणकारी कामको लागि उनीहरूका कान बन्द भइसकेका हुन्छन्। ‘रावण’ शब्दको अर्थ नै हो जो अरूलाई रुवाउँदछ (दुःख दिन्छ) अतः यो खराब कर्महरूको प्रतीक हो किनकि खराब कर्महरूले नै मानिसको जीवनमा दुःख र आँसु ल्याउँदछ। अतएव सीताको अपहरणको भाव वास्तवमा आत्माहरूको शुद्ध भावनाको अपहरणको नै सूचक हो। यसै प्रकार “कुम्भकर्ण” आलस्य तथा ‘मेघनाथ’ कटु वचनको प्रतीक हो र यो सारा संसार नै एक महाद्वीप अथवा मानिसको मन नै लङ्का हो।

    यस विचारबाट हामी भन्न सक्दछौं कि यस विश्वमा द्वापरयुग र कलियुगमा (अर्थात् २५०० वर्ष ‘रावणराज्य’ हुन्छ। किनकि यी दुई युगहरूमा मानिसहरू माया या विकारहरूको वशीभूत हुन्छन्। त्यस समयमा अनेक पूजापाठ गरेर शास्त्र आदि पढेर पनि मानिस विकारी, अधर्मी र भ्रष्ट्राचारी बन्दछन्। रोग, शोक, अशान्ति र दुःखको सर्वत्र बोलबाला (हाहाकार) हुन्छ। मानिसहरूको खानपान असुरहरूको जस्तो (मासु-रक्सी), तामसी भोजन आदि भइसकेको हुन्छ। उनीहरू काम, क्रोध, लोभ, मोह, अहंकार, ईश्र्याद्वेष आदि विकारहरूको वशीभूत भएर एक अर्कालाई दुःख दिन्छन् र रुवाउँदछन्। ठीक यसको विपरीत, स्वर्णयुगमा र रजतयुगमा रामराज्य थियो, किनकि परमात्मा जसलाई रमणीक अथवा सुखदाता भएको कारण ‘राम’ पनि भन्दछन्, उहाँले त्यस पवित्र एवं सुखशान्ति सम्पन्न दैवी स्वराज्यको पुनस्र्थापना गर्नुभएको थियो, त्यस राम राज्यको बारेमा प्रसिद्ध छ कि त्यसबेला घ्यू र दूधको नदी बग्दथ्यो, सिंह र गाई एउटै तलाउमा पानी पिउँथे।

    अब वर्तमान युगमा मानवआत्माहरू फेरि माया अर्थात् रावणको प्रभावमा छन्। औद्योगिक उन्नति, प्रचुर धनधान्य र सांसारिक सुख सबै साधन भएर पनि मानिसलाई साँचो सुख र शान्तिको प्राप्ति छैन। घरघरमा कलहक्लेश, लडाईंझगडा, दुःख र अशान्ति छ तथा भष्ट्राचार, मिलावट, अधर्म र असत्यताको राज्य छ, त्यसैले यसलाई ‘रावणराज्य’ भनिन्छ। अब परमात्मा शिव गीतामा दिइएका आफ्ना वचन अनुसार सहज ज्ञान र राजयोगको शिक्षा दिइरहनुभएको छ र मानवआत्माहरूको मनोविकारहरूलाई खतम गरेर उनीहरूमा दैवी गुण धारण गराइरहुनुभएको छ। अतः हामी सबैले सत्य धर्म र निर्विकारी मार्गलाई अपनाएर परमात्माको यस महान् कार्यमा सहयोगी बन्नुपर्दछ।

    मानव-जीवनको लक्ष्य के हो?

    मानिसको वर्तमान जीवन बडो अनमोल छ किनकि यस संगमयुगमा नै यसले सर्वोत्तम पुरुषार्थ गरेर जन्मजन्मान्तरको लागि सर्वोत्तम प्रारब्ध बनाउन सक्दछ र अतुल हीरा समान कमाइ गर्न सक्दछ। तर आज मानिसलाई जीवनको लक्ष्य थाहा नहुनाको कारणले ऊ सर्वोत्तम पुरुषार्थ गर्नुको सट्टा यसलाई विषय विकारमा खेर फालिरहेको छ। अथवा अल्पकालको प्राप्तिमा नै लगाइरहेको छ। आज ऊ लौकिक शिक्षाद्वारा वकील, डाक्टर, इन्जिनियर बन्ने पुरुषार्थ गरिरहेको छ भने कोही राजनीतिमा भाग लिएर देशको नेता, मन्त्री अथवा प्रधानमन्त्री बन्ने प्रयत्नमा लागिरहेको छ। अन्य कोही यी सबैको संन्यास (त्याग) गरेर संन्यासी बनेर रहन चाहान्छन् तर सबै जान्दछन् कि मृत्यु लोकमा राजारानी, नेता, वकील, इन्जिनियर, डाक्टर संन्यासी इत्यादि कुनैपनि पूर्ण सुखी छैनन्। सबैलाई शरीरको रोग, मनको अशान्ति, धनको कमी, जनताको चिन्ता या प्रकृतिद्वारा कुनै पीडा केही न केही दुःख लागि नै रहन्छ। अतः यिनीहरूको प्राप्ति मानव जीवनको लक्ष्यको प्राप्ति हुँदैन किनकि मानिस सम्पूर्णपवित्रता, सदा सुख र स्थायी शान्ति चाहन्छ।

    चित्रमा अंकित गरिएको छ कि मानव जीवनको लक्ष्य मुक्तिको प्राप्ति अथवा वैकुण्ठमा सम्पूर्ण सुखशान्तिसम्पन्न श्री नारायण या श्री लक्ष्मी पदको प्राप्ति नै हो किनकि वैकुण्ठका देवताहरूलाई अमर मानिएको छ। उनीहरूको अकाल मृत्यु हुँदैन, उनीहरूको शरीर सदा निरोगी हुन्छ र उनीहरूको ढुकुटीमा कुनै पनि प्रकारको कमी हुँदैन। यसैले मानिस स्वर्ग या वैकुण्ठलाई याद गर्दछन् र जब कुनै प्रिय सम्बन्धीले शरीर छोड्दछ भने उनीहरू भन्दछन्– “ऊ त स्वर्गमा गयो।”

    यस पदको प्राप्ति स्वयं परमात्मा नै ईश्वरीय विद्याद्वारा गराउनु हुन्छ

    यस लक्ष्यको प्राप्ति कुनै मानिस अर्थात् कुनै साधुसंन्यासी, गुरू या जगतगुरूले गराउन सक्दैनन् बरू यो दुई ताज भएको देवपद अथवा राजारानी पद स्वयं ज्ञानका सागर परमपिता परमात्मा शिव नै प्रजापिता ब्रह्माद्वारा ईश्वरीय ज्ञान तथा सहज राजयोगको अभ्यासले प्राप्त गराउनुहुन्छ।

    अतः अब जबकि परमपिता परमात्मा शिवले यस सर्वोत्तम ईश्वरीय विद्याको शिक्षा दिनको लागि प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको स्थापना गर्नुभएको छ भने सबै नरनारीहरूले आफ्नो घरगृहस्थमा रहँदा रहँदै, आफ्नो कार्यधन्धा गर्दागर्दै प्रतिदिन एक दुई घण्टा निकालेर आफ्नो भावी जन्मजन्मान्तरको कल्याणको लागि यस सर्वोत्तम अथवा सहज शिक्षालाई प्राप्त गरून्।

    यस विद्याको प्राप्तिको लागि केहीपनि खर्च गर्नुपर्ने आवश्यकता छैन, त्यसैले यसलाई निर्धन व्यक्ति पनि प्राप्त गर्न सक्दछ र आफ्नो सौभाग्य बनाउन सक्दछ। यस विद्यालाई कन्याहरू, माताहरू, बृद्धपुरुषहरू, साना बच्चाहरू र अन्य सबैलाई प्राप्त गर्ने अधिकार छ किनकि आत्माको दृष्टिबाट सबै परमपिता परमात्माका समान सन्तान हुन्।

    अहिले नभए कहिल्यै हुँदैन

    वर्तमान जन्म सबैको अन्तिम जन्म हो। यसैले, अहिले यो पुरुषार्थ गरिएन भने फेरि कहिले पनि हुने छैन किनकि स्वयं ज्ञानसागर परमात्माद्वारा दिइएको यो मूल गीता ज्ञान कल्पमा एकै पटक यस कल्याणकारी संगमयुगमा नै प्राप्त हुन सक्दछ। 

    निकट भविष्यमा श्रीकृष्ण आउँदै हुनुहुन्छ

    आजभोलि प्रतिदिन समाचारपत्रहरूमा अकाल, बाढी, भष्ट्राचार वा लडाइँझगडाका समाचारहरू पढ्न पाइन्छन्। प्रकृतिका पाँच तत्वहरू पनि मानिसलाई दुःख दिइरहेका छन् र सारा वातावरण नै दूषित भइसकेको छ। अत्याचार, विषयविकार तथा अधर्मको नै बढी आवाज छ र यो विश्व नै “काँटाहरूको जंगल” बनिसकेको छ। एक समय थियो जबकि विश्वमा सम्पूर्ण सुखशान्तिको साम्राज्य थियो र त्यो सृष्टि ‘फूलहरूको बगैंचा’ थियो। प्रकृति पनि सतोप्रधान थियो। कुनै पनि प्रकारका प्राकृतिक आपदहरू थिएनन्। मानिस पनि सतोप्रधान दैवीगुण सम्पन्न थिए र आनन्दखुशीमा जीवन व्यतीत गर्दथे। त्यस समयमा यो पूरा संसार स्वर्ग थियो, जसलाई सत्ययुग पनि भन्दछन्। यस विश्वमा समृद्धि, सुख र शान्तिको मुख्य कारण यही थियो कि त्यस समयका राजा र प्रजा सबै पवित्र र श्रेष्ठाचारी थिए। त्यसैले उनीहरूको शिरमा सुनको रत्न जडित ताज र अतिरिक्त पवित्रताको ताज पनि देखाइन्छ। श्री कृष्ण तथा श्री राधा सत्ययुगको प्रथम महाराजकुमार र महाराजकुमारी थिए जसको स्वयम्बरको पश्चात् “श्री नारायण र श्री लक्ष्मी” नाउँ हुन्छ। उनीहरूको राज्यमा बाघ र बाख्रोपनि एउटै तलाउमा पानी पिउँथे अर्थात् पशुपंक्षी सम्म पनि पूर्ण अहिंसक थिए। त्यस समय सबै श्रेष्ठाचारी, निर्विकारी, अहिंसक र मर्यादापुरुषोत्तम थिए, त्यसैले उनीहरूलाई ‘देवता’ भनिन्छ। जबकि उनीहरूको दाँजोमा आजको मानिस विकारी, दुःखी र अशान्त भइसकेको छ। यो संसार पनि रौरव नरक बनिसकेको छ। सबै नर नारी काम क्रोधादि विषय विकारमा डुबुल्की लगाइरहेका छन्। सबैको काँधमा मायाको बोझ छ तथा एक पनि मानिस विकार र दुःखबाट मुक्त छैन।

    अतः अब परमपिता परमात्मा परमशिक्षक, परमसद्गुरू, परमात्मा शिव भन्नु हुन्छ “हे वत्स ! तिमीहरू सबै जन्म जन्मान्तरदेखि मलाई पुकार्दै आएका छौ कि हे प्रभु हामीलाई दुःख र अशान्तिबाट छुटाऊ र हामीलाई मुक्तिधाम र स्वर्गमा लैजाऊ। त्यसैले अब म तिमीहरूलाई फिर्ता मुक्तिधाम लैजानको लागि तथा यस सृष्टिलाई स्वर्ग बनाउन आएको छु। वत्सहरू हो, वर्तमान जन्म सबैको अन्तिम जन्म हो। अब तिमीहरू वैकुण्ठ (सत्ययुगी पावन सृष्टि) मा जाने तैयारी गर अर्थात् पवित्र एवं योगयुक्त बन किनकि अब निकट भविष्यमा श्रीकृष्ण (श्री नारायण) को राज्य आउनै लागेको छ तथा यसबाट यस कलियुगी विकारी सृष्टिको महाविनाश एटम बमहरू, प्राकृतिक प्रकोपहरू तथा गृहयुद्धबाट हुनेछ। चित्रमा श्री कृष्णलाई विश्वको ग्लोवमाथि मधुर बाँसुरी बजाइरहेको देखाइएको छ जसको अर्थ यो हो कि समस्त विश्वमा श्रीकृष्ण (श्री नारायण) को एक छत्रछायी राज्य हुनेछ, एक धर्म हुनेछ, एक भाषा र एक मत हुनेछ तथा सम्पूर्ण खुशहाली, समृद्धि तथा सुखचैनको बाँसुरी बज्नेछ।

    धेरै जसो मानिसहरूको यो मान्यता छ कि श्रीकृष्ण द्वापरयुगको अन्त्यमा आउनुहुन्छ। उनीहरूलाई के थाहा हुनुपर्छ भने श्रीकृष्ण सर्वगुण सम्पन्न, सोह्रकला सम्पूर्ण, सम्पूर्ण निर्विकारी अतः सम्पूर्ण पवित्र हुनुहुन्थ्यो। तब भन्नुस् उहाँको जन्म द्वापरयुगको रजोप्रधान एवं विकारयुक्त सृष्टिमा कसरी हुन सक्दछ? श्रीकृष्णको दर्शनको लागि सूरदासले आफ्नो अपवित्र दृष्टिलाई समाप्त गर्ने कोशिश गरे र श्रीकृष्ण भक्त मीराबाईले पवित्र रहनको लागि विषको कचौरा पिउन स्वीकार गरिन् तब भन्नुस् श्रीकृष्ण देवता अपवित्र दृष्टिवृत्ति भएको सृष्टिमा कसरी आउन सक्नुहुन्छ। श्रीकृष्ण स्वयंवर पछि श्री नारायण भनिनुहुन्छ त्यसैले त श्रीकृष्णको परिपक्व चित्र पाइँदैन अतः श्रीकृष्ण अर्थात् श्री नारायण सत्ययुगी सृष्टिको आरम्भमा आउनुभएको थियो र अब पुनः फेरि आउँदै हुनुहुन्छ।


Intro Day 1 Day 2 Day 3 Day 4 Day 5 Day 6 Day 7

Back | Top