Seven Days Course

Intro

Day 1

Day 2

Day 3

Day 4

Day 5

Day 6

Day 7


छठा दिन


    सर्वशास्त्र शिरोमणि श्रीमद् भगवद् गीताका ज्ञानदाता को हुन्?

    यो कति आश्चर्यको कुरा छ भने आज मानिसलाई यो पनि थाहा छैन, परमप्रिय परमात्मा शिव, जसलाई ‘ज्ञानको सागर’ तथा ‘कल्याणकारी’ मानिन्छ, उहाँले मानिसहरूको कल्याणको लागि जो ज्ञान दिनुभयो, त्यसको शास्त्र कुन हो? भारतमा यद्यपि गीताज्ञानलाई भगवान्द्वारा दिइएको ज्ञान मानिन्छ, तर पनि आज सबै मानिसहरू यही मान्दछन् कि गीता-ज्ञान श्रीकृष्णले द्वापरयुगको अन्त्यमा युद्धको मैदानमा अर्जुनको रथमा चढेर दिनुभएको थियो।

    गीता-ज्ञान द्वापर युगमा दिइएन बरू संगमयुगमा दिइएको थियो

    चित्रमा यो अद्भुत रहस्य चित्रित गरिएको छ कि वास्तवमा गीताज्ञान निराकार परमपिता परमात्मा शिवले दिनुभएको थियो र फेरि गीता-ज्ञानद्वारा सत्ययुगमा श्रीकृष्णको जन्म भएको थियो। अतः गोपेश्वर परमपिता शिव श्रीकृष्णको पनि पारलौकिक पिता हुनुहुन्छ र गीता श्रीकृष्णकी पनि माता हुन्।

    यो कुरा सबै जान्दछन् कि गीता-ज्ञान दिनुको उद्देश्य पृथ्वीमा पुनः धर्मको स्थापना गर्नु नै थियो। गीतामा भगवानले स्पष्ट भन्नु भएको छ कि “म अधर्मको विनाश तथा सत्यधर्मको स्थापनार्थ नै अवतरण हुन्छु” अतः भगवानको अवतरण भएपछि तथा गीताज्ञान दिएपछि धर्मको तथा दैवी स्वभाव भएको सम्प्रदायको पुनः स्थापना हुनुपर्ने हो। तर सबै जान्दछन् र मान्दछन् कि द्वापरयुगको पछि त कलियुग शुरू भयो जसमा झन् धर्मको धेरै हानि भयो, मानिसको स्वभाव तमोप्रधान तथा आसुरी नै भयो। अतः जो व्यक्तिहरू यो मान्दछन् कि भगवानले गीता-ज्ञान द्वापरको अन्त्यमा दिनुभयो, उनीहरूले विचार गर्नु पर्दछ कि के गीताज्ञान दिनु र भगवानको अवतार हुनुको यही फल भयो त? के गीताज्ञान दिइसकेपछि अधर्मको युग प्रारम्भ भयो? स्पष्ट छ कि उनीहरूको विवेकले यस प्रश्नको उत्तर ‘होइन’ शब्दद्वारा नै दिन्छन्।

    भगवानको अवतरणपछि कलियुगको प्रारम्भ मान्नु भगवानको ग्लानि गर्नु हो किनकि भगवानको यथार्थ परिचय हो कि उहाँ अवतरित भएर पृथ्वीलाई असुरबाट खाली गर्नुहुन्छ र धर्मलाई पूर्ण कलाहरू सहित स्थापन गरेर तथा नरलाई श्री नारायण बनाएर मानिसको सद्गति गर्नुहुन्छ। भगवान सृष्टिको ‘बीज रूप’ हुनुहुन्छ, अतः यस धरतीमा उहाँ आएपछि नयाँ सृष्टिवृक्ष अर्थात् नयाँ सत्ययुगी सृष्टिको प्रादुर्भाव हुन्छ। यसको अतिरिक्त यदि द्वापरको अन्त्यमा गीता ज्ञान दिइएको हुन्थ्यो भने कलियुगको तमोप्रधान कालमा त्यसको प्रारब्ध नै भोग्न सकिँदैन। आज पनि तपाइँहरू देख्नुहुन्छ कि दीपावलीको दिनमा श्री लक्ष्मीलाई आह्वान गर्नकोलागि नेपाल र भारत निवासी आफ्ना घरहरूलाई सरसफाई गर्दछन् तथा दियो आदि जलाउँछन्। यसबाट स्पष्ट छ कि अपवित्रता र अन्धकार भएको स्थानमा देवताहरू आफ्नो पाइला पनि टेक्दैनन्। अतः श्रीकृष्ण अर्थात् लक्ष्मीपति श्रीनारायणको जन्म द्वापरयुगमा मान्नु महान् भुल हो। उहाँको जन्म सत्ययुगमा भयो जबकि सबै मित्रसम्बन्धी तथा प्राकृतिक पदार्थहरू सतोप्रधान र दिव्य थिए। सबैको आत्मारूपी दीपक जलेको थियो र सृष्टिमा कुनै पनि म्लेच्छ तथा क्लेश थिएन।

    अतः उपर्युक्त भनाइबाट स्पष्ट छ कि न त श्रीकृष्ण नै द्वापरयुगमा भएर गए न त गीताज्ञान द्वापरयुगको अन्त्यमा दिइएको थियो, बरू निराकार पतितपावन परमात्मा शिवले कलियुगको अन्त्य र सतयुगको शुरूको (आदि) संगमको समय, धर्मग्लानिको समय, ब्रह्माको शरीरमा दिव्य जन्म लिएर गीताज्ञान दिई सत्ययुगको तथा श्रीकृष्ण (श्री नारायण) को स्वराज्यको स्थापना गर्नुभएको थियो। श्रीकृष्णका त आफ्ना आमाबुबा, शिक्षक थिए तर गीताज्ञान सबै आत्माहरूका मातापिता शिवले दिनुभयो।

    गीता-ज्ञान हिंसक युद्ध गर्नको लागि दिइएको थिएन

    आज परमात्माको दिव्य जन्म र ‘रथ’ को स्वरूपलाई नजानेको कारण, मानिसहरूको यो मान्यता दृढ भइसकेको छ कि गीता-ज्ञान श्रीकृष्णले अर्जुनको रथमा चढेर लडाइँको मैदानमा दिनुभएको थियो। तपाईहरू नै विचार गर्नुहोस्जबकि अहिंसालाई धर्मको परमलक्षण मानिएको छ र धर्मात्मा अथवा महात्माहरू पनि अहिंसालाई पालन गर्दछन् तथा अहिंसाको शिक्षा दिन्छन् भने के भगवानले कुनै हिंसक युद्धको लागि कसैलाई शिक्षा दिएको होला? जबकि लौकिक पिता पनि आफ्ना बच्चाहरूलाई यो शिक्षा दिन्छन् कि परस्पर न लड्नू। के सृष्टिका परमपिता शान्तिका सागर परमात्माले मानिसलाई परस्पर लडाएको होला? यो त कदापि हुन सक्दैन। भगवानले दैवी स्वभाव भएको सम्प्रदायको तथा सर्वोत्तम धर्मको स्थापनाको लागि नै गीताज्ञान दिनुहुन्छ र त्यसबाट मानिसले रागद्वेष, हिंसा, क्रोध इत्यादि माथि विजय प्राप्त गर्दछन्। अतः वास्तविकता यो हो कि निराकार परमपिता परमात्मा शिवले यस सृष्टि रूपी कर्मक्षेत्र, धर्मक्षेत्र अथवा कुरुक्षेत्रमा प्रजापिता ब्रह्मा (अर्जुन) को शरीर रूपी रथमा चढेर (प्रवेश भएर) माया अर्थात् विकारहरूसँग युद्ध गर्ने शिक्षा दिनुभएको थियो, तर लेखकले पछि अलंकारिक भाषामा यसको वर्णन गरे तथा चित्रकारहरूले पछि शरीरलाई रथको रूपमा अंकित गरेर प्रजापिता ब्रह्माको आत्मालाई पनि त्यसै रथमा एक मानिस (अर्जुन) को रूपमा चित्रित गरे।

    संगमयुगमा भगवान शिवले जब प्रजापिता ब्रह्माको शरीर रूपी रथमा अवतरित भएर ज्ञान दिनुभयो र धर्मको स्थापना गर्नुभयो तब त्यसपछि कलियुगी सृष्टिको महाविनाश भयो र सत्ययुगको स्थापना भयो। अतः यस सर्वमहान् परिवर्तनको कारण पछि यो वास्तविक रहस्य प्रायः लोप भई हाल्यो। फेरि द्वापर युगको भक्ति कालमा गीता लेखियो। धेरै पहिले (संगमयुगमा भएको यस वृत्तान्तको जो रूपान्तर व्यासले वर्तमान काल को प्रयोग गरेर गरे, समयान्तरमा मानिसहरूले गीता ज्ञानलाई पनि व्यासको जीवन कालमा अर्थात् ‘द्वापर युगमा’ दिइएको ज्ञान मान्न लागे। तर यस भूलले संसारमा धेरै ठूलो हानि हुन गयो किनकि यदि मानिसहरूलाई यो रहस्य ठीकसँग थाहा हुन्थ्यो कि गीताज्ञान निराकार परमपिता परमात्मा शिवले दिनुभएको थियो जो कि श्रीकृष्णका पनि पारलौकिक पिता हुनुहुन्छ र सबै धर्मका अनुयायीहरूका परमपूज्य तथा सबैका एकमात्र सद्गतिदाता तथा राज्यभाग्य दिने हुनुहुन्छ। सबै धर्मका अनुयायीहरू गीतालाई नै संसारको सर्वोत्तम शास्त्र मान्ने थिए र त्यसका महावाक्यहरूलाई परमपिताका महावाक्य मानेर तिनीहरूलाई शिरोधार्य गर्ने थिए र उनीहरू भारतलाई नै आफ्नो सर्वोत्तम तीर्थ मान्ने थिए तथा शिवजयन्ती लाई गीताजयन्ती तथा गीताजयन्तीलाई शिवजयन्तीको रूपमा मान्ने थिए। उनीहरू एक ज्योतिस्वरूप, निराकार, परमपिता परमात्मा शिवसँग नै योगयुक्त भएर पावन बन्ने थिए तथा त्यसबाट सुख, शान्तिको बपौती लिने थिए। तर आज उपर्युक्त सर्वोत्तम रहस्यलाई नजानेको कारण र गीता माताका पति सर्वमान्य निराकार परमात्मा शिवको ठाउँमा गीतापुत्र श्रीकृष्ण देवताको नाउँ लेखिदिएको कारणले गीता नै खण्डन हुन गयो र संसारमा घोर अनर्थ, हाहाकार तथा पापाचार हुन गयो र मानिसहरू एक निराकार परमपिता परमात्माको आज्ञा ‘मन्मनाभव’ अर्थात् ‘एक मलाई मात्र यादगर’ लाई भुलेर व्यभिचारी (अनेकको भक्ति गर्ने बुद्धि भएका हुनगए !! आज फेरि उपर्युक्त रहस्यलाई जानेर परमपिता परमात्मा शिवसँग योगयुक्त भएमा पुनः यस विश्वमा श्रीकृष्ण अथवा श्रीनारायणको सुखदायी स्वराज्य स्थापना हुन सक्दछ र भइरहेको छ।

    जीवन कमल-पुष्प समान कसरी बन्न सक्दछ?

    स्नेह र सौहार्दको अभावको कारण आज मानिसलाई घरमा घर जस्तो अनुभव हुँदैन । एउटा साधारण कारणले घरको पूरा वातावरण नै बिग्रिन्छ । अब मानिसको वफादारी र विश्वासपात्रता पनि टिकाऊ र दृढ छैन । नैतिक मूल्य आफ्नो स्तरबाट धेरै गिरिसकेको छ । कार्यालय होस् या व्यवसाय, घर होस् वा चूल्हो, अब हरेक ठाउँमा परस्पर सम्बन्धलाई सुधार्ने, स्वयंलाई त्यसमा ढाल्ने र मेलमिलाप गरेर रहनु जरूरी छ। आफ्नो स्थितिलाई निर्दोष एवं सन्तुलित बनाएर राख्नको लागि प्रत्येक मानिसलाई आज धेरै मनोवल एकत्रित गर्नु पर्ने आवश्यकता छ। यसको लागि योग धेरै नै सहायक हुन सक्दछ।

    जो ब्रह्माकुमार ब्रह्माकुमारी छन् उनीहरू अरूलाई पनि शान्तिको मार्ग दर्शाउनु चाहिँ एक सेवा अथवा आफ्नो कर्तव्य सम्झिन्छन्। ब्रह्माकुमारी संस्थाले जनजनलाई यो ज्ञान दिइरहेको छ कि शान्ति, पवित्र जीवनको एक फल हो र पवित्रता एवं शान्तिको लागि परमपिता परमात्माको परिचय तथा उहाँसँग मनको नाता जोड्नु जरूरी छ। अतः संस्था सबै लाई राजयोग केन्द्र अथवा ईश्वरीय मननचिन्तन केन्द्रमा आउनको लागि आमन्त्रित गर्दछ, जहाँ उनीहरूलाई यो आवश्यक ज्ञान दिइन्छ कि राजयोगको अभ्यास कसरी गर्ने र जीवनलाई कमल पुष्प समान कसरी बनाउने? यस ज्ञान एवं योगलाई सम्झनुको फल यो हुन्छ कि कोही कार्यालयमा काम गरिरहेको होस् या भान्छा कोठामा कार्यरत् होस् तर पनि मानिस शान्तिका सागर परमात्मासँग स्वयंको सम्बन्ध स्थापित गर्न सक्दछ। यी सबैको श्रेष्ठ परिणाम यो हुन्छ कि सारा परिवार प्यार र शान्तिको सूत्रमा बाँधिन्छ, उनीहरू सबै वातावरणमा आनन्द एवं शान्तिको अनुभव गर्दछन् र अब त्यो परिवार एक सुव्यवस्थित एवं संगठित परिवार बन्दछ। दिव्यज्ञानद्वारा मानिसले विकारलाई छोडिदिन्छ र गुण पनि धारण गर्दछ। यसको लागि जुन मनोबलको जरूरत छ त्यो योगबाट मिल्दछ। यसप्रकार मानिस आफ्नो जीवनलाई कमलपुष्प समान बनाउनको लागि योग्य हुन्छ।

    कमलको यो विशेषता छ कि त्यो जलमा रहेर पनि जलसँग अलग भएर रहन्छ। यद्यपि, कमलका अन्य सम्बन्धी जस्तो कि कमल काकडो, कमल डाँठ इत्यादि छन् तर पनि कमल ती सबैबाट माथि उठेर रहन्छ, यस्तै प्रकार हामीले पनि आफ्नो एवं मित्रजनहरूको बीचमा रहेर उनीहरूबाट अलग अर्थात् मोहजित भएर रहनु पर्दछ।

    केही मानिसहरू भन्दछन् कि गृहस्थमा यस्तो सम्भव हुन सक्दछ? तर हामी देख्दछौं कि अस्पतालमा नर्स अनेक बच्चाहरूलाई स्याहारसुसार गरेर पनि उनीहरूमा मोहरहित हुन्छन् यस्तै हामीमा पनि हुनुपर्दछ कि हामी सबैलाई परमपिता परमात्माका वत्सहरू मानेर साक्षी भएर उनीहरू सँग व्यवहार गरौं। एउटा न्यायाधीशले पनि खुशी वा खेदको निर्णय सुनाउँछ तर ऊ स्वयं त्यसको प्रभावाधीन हुँदैन। यस्तै हामीहरू पनि सुखदुःखको परिस्थितिमा साक्षी भई रहौं, यसैको लागि हामीलाई सहज राजयोग सिक्नुपर्ने आवश्यकता छ।

    राजयोगको आधार तथा विधि

    सम्पूर्ण स्थितिलाई प्राप्त गर्नको लागि र शीघ्र नै आध्यात्मिक उन्नति प्राप्त गर्नको लागि मानिसलाई राजयोगको निरन्तर अभ्यास गर्नु आवश्यक छ, अर्थात् हिड्दाडुल्दा र कार्यव्यवहार गर्दागर्दै पनि परमात्माको स्मृतिमा स्थित हुनुपर्ने जरूरत पर्दछ।

    यद्यपि निरन्तर योगका धेरै लाभहरू छन् र निरन्तर योगद्वारा नै मानिस सर्वोत्तम अवस्थालाई प्राप्त गर्न सक्दछ तथापि विशेष रूपले योगमा बस्नु जरूरी छ। त्यसैले चित्रमा देखाइएको छ कि परमात्मालाई याद गर्ने समयमा हामीलाई आफ्नो बुद्धि सबैतिरबाट हटाएर एक ज्योतिर्बिन्दु परमात्मा शिवसँग जोडनुपर्छ। मन चञ्चल हुनाको कारण काम, क्रोध, लोभ, मोह, अहंकार अथवा शास्त्र र गुरूहरूतिर भाग्दछ। तर अभ्यासद्वारा हामीले यसलाई एक परमात्माको यादमा नै स्थित गर्नु पर्दछ। अतः शरीर सहित शरीरका सबै सम्बन्धहरूलाई भुलेर आत्मास्वरूपमा स्थित भई बुद्धिमा ज्योतिर्बिन्दु परमात्मा शिवको स्नेहयुक्त स्मृतिमा रहनु नै वास्तविक योग हो जस्तो कि चित्रमा देखाइएको छ।

    कतिपय मानिसहरूले योगलाई धेरै कठिन सम्झन्छन्। उनीहरू थरीथरीका हठ क्रियाहरू, तप अथवा प्राणायाम गर्ने गर्दछन् तर वास्तवमा ‘योग’ धेरै नै सहज छ। जसरी कि एक बालकलाई आफ्नो शरीरको बुबाको सहज र स्वतः नै याद रहन्छ त्यस्तै आत्मालाई आफ्नो पिता परमात्माको स्वतः र सहज याद हुनुपर्दछ। यस अभ्यासको लागि यो सोच्नुपर्दछ कि “म एक आत्मा हुँ, म ज्योतिर्बिन्दु परमात्मा शिवको अविनाशी सन्तान (छोरा) हुँ जो परमपिता ब्रह्मलोकको वासी हुनुहुन्छ, शान्तिको सागर, आनन्दको सागर र सर्वशक्तिमान् हुनुहुन्छ ..।” यस्तो मनन गर्दै मनलाई ब्रह्मलोकमा शिवमा स्थित गर्नुपर्दछ र परमात्माका दिव्यगुणहरू र कर्तव्यहरूको मनन गर्नु पर्दछ।

    जब मन यस प्रकारको स्थितिमा स्थित हुनेछ तब सांसारिक सम्बन्धहरू अथवा वस्तुहरूको आकर्षण अनुभव हुने छैन। जति धेरै परमात्माद्वारा सिकाइएको ज्ञानमा निश्चय हुनेछ, त्यति नै सांसारिक विचार र लौकिक सम्बन्धीहरूको याद मनमा आउनेछैन, बरू आफ्नो स्वरूपको र परमपिता परमात्माका गुणहरूको अनुभव हुनेछ।

    आज धेरैजसो व्यक्तिहरू भन्दछन् कि हाम्रो मन परमात्माको स्मृतिमा टिक्दैन अथवा हाम्रो योग लाग्दैन। यसको एक कारण यो हो कि उनीहरू ‘आत्म-निश्चयमा’ स्थित हुँदैनैन्। तपाईहरूलाई थाहा छ कि जब बिजुलीका दुइटा तारलाई जोड्नु पर्ने हुन्छ, तब उनीहरूको माथिको रबर झिक्नु पर्ने हुन्छ, तब नै त्यसमा करेन्ट आउँछ। यसै प्रकार यदि कुनै आफ्नो देहभानमा हुन्छ भने अथवा कुनै शरीरधारी मानिस या देवताको स्मृतिमा हुन्छ भने त्यसलाई पनि अव्यक्त अनुभूति हुँदैन, त्यसको पनि मनको तार परमात्मा सँग जोड्न सकिदैन।

    दोस्रो कुरा यो छ कि उनीहरू परमात्मालाई नाउँरूपबाट भिन्न सर्वव्यापी मान्दछन् अतः उनीहरू मनलाई कुनै ठाउँ पनि दिन सक्दैनन्। तर अब यो स्पष्ट गरिएको छ कि परमात्माको दिव्य नाउँ शिव, दिव्यरूप ज्योतिबिन्दु र दिव्यधाम परमधाम अथवा ब्रह्मलोक हो। अतः त्यहाँ मनलाई टिकाउन सकिन्छ।

    तेस्रो कुरा यो छ कि उनीहरूलाई परमात्मासँग घनिष्ट सम्बन्धको पनि परिचय छैन, यसै कारण परमात्माको प्रति उनीहरूको मनमा निकट तथा घनिष्ट स्नेह छैन। अब सबै ज्ञान स्पष्ट भए पछि हामीलाई ब्रह्मलोक निवासी परमप्रिय परमपिता शिव ज्योतिर्बिन्दुको स्मृतिमा रहनुपर्दछ। 

    राजयोगका स्तम्भ अथवा नियम

    वास्तवमा योगको अर्थ ज्ञानका सागर, आनन्दका सागर, प्रेमका सागर, सर्वशक्तिमान्, पतित पावन परमात्मा शिवसँग आत्माको सम्बन्ध जोड्नु हो ताकि आत्मालाई पनि शान्ति, प्रेम, आनन्द, पवित्रता, शक्ति र दिव्यगुणहरूको विरासत (वपौती) प्राप्त होस्।

    योगको अभ्यासको लागि आचरण सम्बन्धी केही नियमहरूको अथवा दिव्यअनुशासनको पालना गर्नु पर्दछ किनकि योगको उद्देश्य मनलाई शुद्ध गर्नु, दृष्टिकोणमा परिवर्तन ल्याउनु र मानिसको चित्तलाई सदा प्रसन्न अथवा हर्षयुक्त बनाउनु हो। अर्को शब्दमा योगको उच्च स्थिति कुनै आधारभूत स्तम्भहरूमाथि टिकेको हुन्छ।

    यिनीहरू मध्ये पहिलो हो– ब्रह्मचर्य या पवित्रता। योगी शारीरिक सुन्दरता या भोगवासनातिर आकर्षित हुँदैन किनकि उसको दृष्टिकोण बदलिइसकेको हुन्छ। ऊ आत्माको सुन्दरतालाई नै पूर्ण महत्व दिन्छ। उसको जीवन ‘ब्रह्मचर्य’ शब्दको वास्तविक अर्थमा ढल्केको हुन्छ। अर्थात् उसको मन ब्रह्ममा स्थित हुन्छ। ऊ शरीरको सट्टा अशरीरी (आत्मअभिमानी) अवस्थामा रहन्छ। अतः ऊ सबैलाई भाइभाइको रूपमा देख्दछ र आत्मिक प्रेम वा सम्बन्धको नै आनन्द लिन्छ। वास्तवमा आत्मिक स्मृति र ब्रह्मचर्यको पालनाले धेरै नै महान् शारीरिक शक्ति, कार्यक्षमता, नैतिक बल र आत्मिक शक्ति दिन्छ। उसको मनोबललाई बढाउँछ। उसलाई निर्णय शक्ति, मानसिक सन्तुलन र कुशलता दिन्छ।

    दोस्रो महत्वपूर्ण स्तम्भ हो– सात्विक आहार। मानिसले जुन आहार गर्दछ त्यसले उसको मस्तिष्कमा गम्भीर प्रभाव पर्दछ। त्यसैले योगी, मासु, फुल, उत्तेजक पेय पदार्थ या तम्बाकू लिंदैन। आफ्नो पेट पाल्नको लागि ऊ अन्य जीवहरूको हत्या गर्दैन, न त ऊ अनुचित साधनबाट धन कमाउँछ। ऊ पहिले भगवानलाई भोग लगाउँछ र तब प्रसादको रूपमा त्यसलाई स्वीकार गर्दछ। भगवान्द्वारा स्वीकृत त्यो भोजन उसको मनलाई शान्ति तथा पवित्रता दिन्छ तब नै ‘जस्तो अन्न त्यस्तै मन’ को किम्बदन्ती अनुसार उसको मन शुद्ध हुन्छ र उसको कामना कल्याणकारी तथा भावना शुभ बनिरहन्छ।

    तेस्रो महत्वपूर्ण स्तम्भ हो– सत्सङ्ग ‘जस्तो सङ्ग त्यस्तै रंग’, यस कथनको अनुसार योगी सदा यस कुराको ध्यान राख्दछ कि उसको सदा ‘सत् चित् आनन्दस्वरूप’ परमात्मासँग नै संगत बनिरहोस्। ऊ कहिले पनि कुसंगत अथवा अश्लील साहित्य अथवा कुविचारहरूमा आफ्नो समय व्यर्थ नगुमाओस्। ऊ एक नै प्रभुको याद एवं लगनमा मग्न रहन्छ तथा अज्ञानी मिथ्याअभिमानी अथवा विकारी, शरीरधारी मानिसलाई याद गर्दैन र न त उससँग सम्बन्ध नै जोड्दछ।

    चौथो स्तम्भ हो– दिव्यगुण। योगी सदा अन्य आत्माहरूलाई पनि आफ्ना दिव्यगुण दिव्य-विचार तथा दिव्यकर्महरूको सुगन्धले अगरबत्ती झैं सुगन्धित गर्दछ न कि आसुरी स्वभाव, विचार वा कर्मको वशीभूत हुन्छ। विनम्रता, सन्तोष, हर्षितमुखता, गम्भीरता, अन्तर्मुखता, सहनशीलता र अन्य दिव्यगुण योगका मुख्य आधार हुन्। योगी स्वयं त यी गुणहरूलाई धारण गर्छ नै, साथ-साथै अन्य दुःखी भुलेकाभट्केका र अशान्त आत्माहरूलाई पनि आफ्ना गुणहरूको दान गर्दछ र उसको जीवनमा सही सुखशान्ति प्रदान गराउँदछ, यी नियमहरूलाई पालन गर्नाले नै मानिस सही (साँचो योगी जीवन बनाउन सक्दछ तथा रोग, शोक, दुःख वा अशान्तिरूपी भूतहरूको बन्धनबाट छुटकारा पाउन सक्छ। 

    राजयोगबाट प्राप्ति-अष्ट शक्तिहरू

    राजयोगको अभ्यासले अर्थात् मनको नाता परमपिता परमात्मासँग जोड्नाले अविनाशी सुख-शान्तिको प्राप्ति त हुन्छ नै, साथै कतिपय प्रकारका आध्यात्मिक शक्तिहरू पनि आउँछन्। यी मध्ये आठ मुख्य र धेरै नै महत्वपूर्ण छन्।

    यी मध्येमा एक हो ‘खुम्चिने र फैलाउने शक्ति’ जसरी कछुवा आफ्ना अङ्गहरूलाई जब चाहन्छ खुम्च्याउँछ र जब चाहन्छ फैलाउँछ, त्यस्तै नै राजयोगी जब चाहन्छ आफ्नो इच्छानुसार आफ्ना कर्मेन्द्रियहरूद्वारा कर्म गर्दछ र जब चाहन्छ अशरीरी अर्थात् शान्त अवस्थामा रहन सक्दछ। यस प्रकारको अशरीरी अवस्था रहनाले त्यसमाथि मायाको आक्रमण हुँदैन।

    दोस्रो शक्ति हो ‘समेट्ने शक्ति’। यस संसारलाई धर्मशाला त सबैले भन्दछन् तर व्यावहारिक जीवनमा उनीहरू यति विस्तार गर्दछन् कि आफ्नो कार्य र बुद्धिलाई एकाग्र गर्न चाहेर पनि गर्न सक्दैनन् जबकि योगी आफ्नो बुद्धिलाई विशाल दुनियाँमा फैलाएर एक परमपिता परमात्माको तथा आत्मिक सम्बन्धको यादमा नै आफ्नो बुद्धि लगाइराख्दछ। ऊ कलियुगी संसार बाट आफ्नो बुद्धि र संकल्पको गुन्टो वा पेटी समेटेर सदा आफ्नो घर परमधाममा जान तैयार रहन्छ।

    तेस्रो शक्ति हो ‘सहन शक्ति’ जसरी वृक्षमा ढुंगा हान्दा पनि मीठो फल दिन्छ र अपकार गर्नेमाथि पनि उपकार गर्दछ, त्यस्तै एउटा योगी पनि सदा अपकार गर्ने प्रति पनि शुभ भावना र कामना नै राख्दछ।

    योगद्वारा जुन चौथो शक्ति प्राप्त हुन्छ। त्यो हो ‘समाहित हुने शक्ति’ (ग्रहण गर्ने शक्ति)। योगको अभ्यास मानिसको बुद्धिलाई विशाल बनाउँछ र मानिस गम्भीरता र मर्यादाको गुण धारण गर्दछ। थोरै खुशी वा मानपद पाएर ऊ अभिमानी बन्दैन न त कुनै प्रकारको कमी आउँदा या हानि हुने समयमा दुःखी हुन्छ। ऊ समुद्र झैं सदा आफ्नो दैवी कुलको मर्यादामा बाँधिएको हुन्छ र गम्भीर अवस्थामा रहेर अरू आत्माहरूका अवगुण नदेखेर केवल उनीहरूबाट गुण नै धारण गर्दछ।

    योगबाट अर्को शक्ति जो मिल्दछ त्यो हो ‘पहिचान गर्ने शक्ति’। जसरी एक जौहरी आभूषणहरूलाई कसौटीमा पहिचानेर त्यसको असली नक्कली कुरालाई थाहा पाइहाल्दछ, त्यस्तै योगी पनि कुनै पनि मानवआत्माहरूको सम्पर्कमा आएर उसलाई चिनिहाल्दछ र उसबाट कहिले पनि सच्चाई र झूट लुकाउन सक्दैन। ऊ सदा सही ज्ञानरत्नहरूलाई नै अपनाउँदछ तथा अज्ञानका झूटा कंकड ढुंगाहरूमा आफ्नो बुद्धि फसाउँदैन।

    एक योगीलाई महान् ‘निर्णय शक्ति’ पनि स्वतः प्राप्त हुन सक्दछ। ऊ उचित र अनुचित कुराको शीघ्र नै निर्णय गर्दछ। ऊ व्यर्थ संकल्प र परचिन्तनबाट मुक्त भएर सदा प्रभुचिन्तनमा रहन्छ। योगको अभ्यासबाट मानिसलाई ‘सामना गर्ने शक्ति’ पनि प्राप्त हुन्छ। यदि उसको अगाडि आफ्नो निकट सम्बन्धीको मृत्यु जस्तो आपद समेत आइहाल्यो भने अथवा सांसारिक समस्याहरू तूफान (हूरी) को रूप नै किन धारण नगरोस् तर पनि ऊ कहिले विचलित हुँदैन र उसको आत्मारूपी दियो सधै जलि नै रहन्छ तथा अन्य आत्माहरूलाई ज्ञान प्रकाश दिई नै रहन्छ।

    अर्को शक्ति जो योगको अभ्यासबाट प्राप्त हुन्छ, त्यो हो ‘सहयोगको शक्ति’। एक योगी आफ्नो तन, मन, धनले ईश्वरीय सेवा त गर्छ नै साथै उसलाई अन्य आत्माहरूको पनि सहयोग स्वतः प्राप्त हुन्छ, जुन कारणले ऊ कलियुगी पहाड (विकारी संसार) लाई उठाउन (परिवर्तन गर्न आफ्नो पवित्र जीवनरूपी औंला दिएर स्वर्ग स्थापनाको पहाड समान कार्यमा सहयोगी बन्दछ।


Intro Day 1 Day 2 Day 3 Day 4 Day 5 Day 6 Day 7

Back | Top